दुर्लभ बन्यजस्तु रेडपाण्डा संरक्षणमा जुटे सरोकारवाला

0
Shares

धनवीर दाहाल,रुकुम
दुर्लभ बन्यजन्तुको चोरी सिकारी तथा अवैध व्यापार रोकथामका लागी रुकुममा सचेतनामुलक अभियान थालिएको छ । दुर्लभ बन्यजस्तु रेडपाण्डाको अवैध व्यापार बढीरहेको र चोरी सिकारी बढ्न थालेकोले रेडपाण्डा संरक्षणका लागी सरोकारवाला निकायले सचेतना अभियान थालेका हुन् । । रेडपाण्डा लगाएतका दुर्लभ बन्यजस्तुको चोरी सिकारी हुन नदिन वन तथा वन्यजस्तुसँग सम्बन्धीत निकायले संरक्षणका लागी अभियान थालेका छन् ।

रुकुम पश्चिममा गत महिना मात्र रेडपाण्डाको छाला सहित प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका र आठबिसकोट नगरपालिका तथा रुकुम पुर्वको पुथाउत्तर गंगा गाँउपालिका र सिस्ने गाँउपालिका रेडपाण्डा पाइने क्षेत्र भएकोले सो ठाँउमा संरक्षणका लागी अभियानात्मक कार्यक्रम हुने भएको हो ।

बिशेष गरी रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकामा तथा रुकुम पुर्वको पुथाउत्तरगंगा र सिस्ने गाँउपालिकामा हुरेडकार्स र रेडपाण्डा नेटवर्क काठमान्डौले यस बर्ष संरक्षणका लागी कार्यक्रम गर्दै छन् । स्थानीय तहसँगको सहकार्यमा रेडपाण्डाको संरक्षणमा काम हुन लागेको रेडपाण्डा नेटवर्कका संचार अधिकृत प्रगति शाहीले बताउनुभयो ।

रेडपाण्डा संरक्षणका लागी बिशेष गरी बन जंगलको संरक्षण, अनुसन्धान, जनचेतनामुलक कार्यक्रम र रेडपाण्डाको बास स्थानको व्यवस्थापनमा जोड दिइने छ । राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन अनुसार बन्य जन्तुको संरक्षणमा स्थानीयलाई सचेतनामुलक कार्यक्रम गरिने बताइएको छ । रुकुम पुर्वमा करिव १३ लाख र रुकुम पश्चिममा करिव ११ लाख बजेट छुट्याइएको रेडपाण्डा नेटवर्क कार्यक्रम संयोजक सरोज श्रेष्ठले जानकारी दिनुभयो ।

रुकुममा हुरेड कार्ससँगको साझेदारीमा कार्यक्रम हुने हुरेडकार्सका कार्यकारी निर्देशक प्रचण्ड मल्ले बताउनुभयो ।