अमेरिकी सहयोग रोकिँदा महिला स्वास्थ्यमा समस्या

0
Shares

भगवती तिमल्सिना, काठमाडौं

अमेरिकी सरकारबाट महिला स्वास्थ्यका क्षेत्रमा नेपालमा गरिँदै आएको सहयोग कृपा नामक गैरसरकारी संस्थाबाट रोकिँदा ठूलो समस्या निम्तिएको सम्बन्धमा एक अनुसन्धानमूलक रिपोर्ट सार्वजनिक गरिएको छ।

नेपालजस्तो परनिर्भर मुलुकलाई अमेरिकाले लागू गरेको ‘ग्लोबल ग्याग रुल’ले आम नेपाली महिलाको स्वास्थ्यमा निकै जटिल समस्या पार्ने प्रतिवेदन सार्वजनिक गरिएको छ। कृपा, आईपासलगायतका गैरसरकारी संस्थाले एक वर्ष लगाएर अध्ययन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा कृपाका एसोसिएट डाइरेक्टर डा. महेश पुरी भन्नुहुन्छ– ‘स्वास्थ्य क्षेत्रको ठूलो सहयोगीदाता अमेरिकी सहयोग नियोग (यूएसएआईडी)ले प्रदान गर्दै आएको बजेट प्राप्त गरिरहेका नेपालका कतिपय संस्थालाई ‘ग्लोबल ग्याग रुल’का बारेमा थाहै थिएन।’

सत्ता सम्हालेलगतै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो हस्ताक्षर गरेको म्याक्सिको सिटी नीति ‘ग्लोबल ग्याग रुल’ कडाइका साथ लागू गर्दा नेपालमा सुधारोन्मुख अवस्थामा रहेको मातृ तथा बाल मृत्युदर पुनः बिग्रने अवस्था सृजना भएको आईपास नेपालका कन्ट्री डाइरेक्टर एवं अध्यक्ष डा. शिवेशचन्द्र रेग्मी बताउनुहुन्छ।

नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका नेपाल परिवार नियोजन संघ, आईपास नेपाल, कृपालगायतका दर्जनौं संस्थाले यूएसएआईडीमार्फत प्राप्त गर्दै आएको आर्थिक सहयोगमा अमेरिकाले रोक लगाएको छ। नेपालमा सुरक्षित गर्भपतनको कानुन सन् २००२ मा पारित भई कार्यान्वयनमा आइसकेको छ। कार्यान्वयनको पक्ष सकारात्मक भएकै कारण मातृ तथा बाल मृत्युदरमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको अवस्थामा लगाइएको प्रतिबन्धले नेपाललाई ठूलो असर पर्ने पनि रेग्मी बताउनुहुन्छ।

अमेरिकाजस्तो मुलुकले न्यायोचित र व्यवस्थित स्वास्थ्य प्रणालीको माध्यमबाट नेपालीहरूको जीवनयापन र गुणस्तरीय जीवनको सुधार गर्न नेपाल सरकार र अन्य निकायलाई सहयोग पुर्याउनुपर्नेमा नेपालको कानुनसँग बाझिने नीतिका कारण आफ्ना प्राथमिकतालाई नै कायम राख्न बाधा पुगेको रेग्मी बताउनुहुन्छ।

अमेरिकी सरकारको अनुदान कटौतीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार कार्यक्रमअन्तर्गत हुने क्रियाकलाप उपकरणको आपूर्ति र सेवाको माग बढाउने कार्यमा असर परेको छ, यसका कारण सेवाको प्रयोगमा कमी आउने वा उपयोग नै हुन नसक्ने ठम्याइ कृपाका प्रोग्राम अफिसर भेनिसा रिभोजको छ। उहाँ भन्नुहुन्छ– ‘अमेरिकी सरकारको यो निर्णयले ग्लोबल ग्याग रुलको मारमा १ हजार २ सयभन्दा बढी संस्थाहरू प्रभावित भएका छन्।’

यसका साथै परिवार नियोजन परियोजनाको कार्यान्वयनका लागि अमेरिकी सरकारको अनुदान प्राप्त गर्ने परिवार नियोजन संघ आईपीपीएफ, पीएसआईलगायतका संस्थाले समय छोट्याएर कार्यक्रम टुंग्याउन बाध्य भएका छन्।

उहाँ थप्नुहुन्छ– ‘नेपाल सरकारकै कार्यक्रमलाई सघाउँदै आएका यी निकायहरूलाई ग्लोबल ग्याग रुलको मारले गर्दा वर्षौंदेखि परिवार नियोजन र सुरक्षित गर्भपतन सेवाको विस्तारमा काम गर्दै आएका कार्यक्रम नराम्ररी प्रभावित हुन पुगेका छन्।’ यसले मुख्य रूपमा सिमान्तकृत र सेवाको महुँच बाहिरका जनसंंख्यालार्ई नराम्ररी असर पारेको छ। पीएसआईले २२ वटा जिल्लामा प्रदान गर्दै आएका सेवाहरू बन्द गर्न बाध्य भएको छ। यी कार्यक्रमका लागि नेपालका लागि मात्र झण्डै २६ लाख अमेरिकी डलर बराबरको सहयोग वार्षिक रूपमा उपलब्ध हुँदै आएकोसमेत बुझिएको छ।

परिवार नियोजनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको नेपाल परिवार नियोजन संघले ४ वर्षअघि सम्झौता गरेको कार्यक्रमसमेत हतारहतार तोकिएको समयभन्दा ३ महिनाअघि नै गत डिसेम्बर महिनामा सम्पन्न गरिसकेको छ। यति बेला ३ वटै संस्थाले अमेरिकी नियोगको सर्त नमान्ने भएका छन्। सर्तअनुसार परिवार नियोजन, सुरक्षित गर्भपतन गराउन नपाउने भएकाले ती निकायले गर्दै आएका काम नै यीनै भएकाले अन्य दातृ निकायको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने अमेरिकाको सर्तअनुसार सम्झौता नगर्ने टुंगोमा पुगेको बुझिएको छ।

सन् २०१७ मा ग्लोबल ग्याग रुल पुनस्र्थापना र विस्तार गरिएपछि अमेरिकाको विश्व स्वास्थ्यसम्बन्धी आर्थिक अनुदान प्राप्त गर्दै आएका नेपाली गैरसरकारी संस्थाहरूले अनुदान प्राप्त गरिराख्ने शर्तका रूपमा उनीहरूको आफ्नै स्रोतसमेत प्रयोग नगरी गर्भपतनको सेवा, परामर्श, प्रेषण र वकालतलाई परिवार नियोजनको साधनका रूपमा नअपनाएको प्रमाणित गर्नुपर्नेछ। यसले एचआईभी एड्स, क्षयरोग, औैंलो, सरुवा रोगहरू, ध्यान नपुगेका उष्ण प्रदेसीय रोगहरू र पानी तथा सरसफाइमा लक्षित कार्यक्रमको अनुदानसमेत रोकिन सक्ने भएकाले यसले नकारात्मक प्रभाव देखिन थालेको छ कृपाका निर्देशक आनन्द तामाङ भन्नुहुन्छ।