कामपाभित्र कुकुरको बिगबिगी, ६ महिनाभित्र १४ हजारको बन्ध्याकरण

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

अबको ६ महिनाभित्र महानगरक्षेत्रका सबै कुकुर बन्ध्याकरण भइसक्नेछन्। कामपाको सहयोगमा सञ्चालित मनुमित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्याकरण हुन लागेको हो।

हालसम्म करिब ७ हजार कुकुरको बन्ध्याकरण भइसकेको छ। कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्याकरण कार्यक्रम महानगरको २१ वटा वडामा सम्पन्न भइसकेको छ। अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा. संगीता सापकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्याकरण गरी शुरू गरिएको कार्यक्रम अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्याकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ।

कार्यक्रमअन्तर्गत वडा कार्यालयको संयोजनमा चिकित्सकसहितको टोलीले छाडा कुकुर समातेर बन्ध्याकरण गर्ने गरेको छ।

अधिकांश वडाका कुकुरको संख्या यकिन गरेर बन्ध्याकरण शुरू गरिएको सापकोटाको भनाइ छ। उहाँले महानगरपालिका क्षेत्रभित्रका कुकुरलाई व्यवस्थित गर्न यो परियोजना सञ्चालन गरिएको बताउनुभयो। मनुमित्र कार्यक्रमअन्तर्गत सिंहदरबार, प्रहरी कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्री निवास, नारायणहिटी संग्रहालयलगायत कार्यालयमा बस्दै आएका कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकिएको छ।

संख्यात्मकरूपमा कम रहेका वडामा कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन भइरहेको संयोजक सापकोटाले जानकारी दिनुभयो।

कामपाले बन्ध्याकरणका लागि औषधी खरिद गर्ने सम्झौताअनुसार औषधी खरिद गरेलगत्तै गएको वर्षबाट बन्ध्याकरणको काम थालिएको संयोजकको भनाइ छ। तीन वर्षमा सकिनुपर्ने कार्यक्रम स्थानीय र संघीय चुनावका कारण केही वर्ष पछि धकेलिएको जानकारी गराउँदै अब करिब ६ महिनाभित्र कामपाका सम्पूर्ण कुकुर बन्ध्याकरण भइसक्ने जानकारी दिनुभयो। कामपाले करिब ७२ लाख रुपियाँ बराबरको औषधी खरिद गर्ने सम्झौताअनुसार हालसम्म करिब ३१ लाख रुपियाँको औषधी उपलब्ध भइसकेको छ।

संयोजक सापकोटाका अनुसार प्रत्येक साता करिब ५ सय कुकुर बन्ध्याकरण गरिने जानकारी दिनुभयो। चिकित्सकको टोलीले टेकुस्थित महानगरपालिकाको कार्यालयमा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिरहेका छन्।

महानगरले सबै वडालाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गर्ने योजनाअनुसार बन्ध्याकरण कार्यक्रमलाई निरन्तररूपमा अघि बढाइरहेको जनाएको छ। कामपा कृषि विभाग प्रमुख हरि भण्डारीले वडा कार्यालय र समितिको सहभागितामा कुकुर बन्ध्याकरण कार्यक्रम अघि बढिरहेको जानकारी दिनुभयो। बसाइँसराइ गरेका कुकुर नआए अबको ६ महिनाभित्र सबै कुकुर बन्ध्याकरण भइसक्ने उहाँले जानकारी दिनुभयो।

कार्यक्रमअन्तर्गत कुनै वडा वा नजिकको नगरपालिकाबाट नयाँ कुकुर भित्रिए त्यसलाई समेत उपचार गरी बन्ध्याकरण गरिनेछ। कार्यक्रमअन्तर्गत भाले र पोथी दुवै कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन भइरहेको छ।

बन्ध्याकरण भएका कुकुरको अवस्थाबारे अनुगमन गर्ने जिम्मा वडा स्तरीय समितिले लिने गरेको छ। सबै वडाका कुकुर बन्ध्याकरण भएपछि मनुमित्र कार्यक्रमले विशेष कार्यक्रम आयोजना गरेर महानगरलाई कुकुर व्यवस्थित महानगरपालिका घोषणा गर्ने तयारी गरेको छ।

विभागीय प्रमुख भण्डारीले छाडा छाडिएका कुकुर व्यवस्थित गरी महानगरलाई व्यवस्थित शहर घोषणा गर्ने योजनाअनुसार कुकुर बन्ध्याकरण कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो।

कुकुर व्यवस्थित क्षेत्र घोषणा भइसकेपछि अन्य कुकुरलाई वडामा प्रवेश नगराउन वडाको समितिको मुख्य मिका रहने बताउँदै संयोजक सापकोटाले सबै वडाले आफ्नो क्षेत्रमा बध्याकरण गरिएका कुकुरको यथार्थ जानकारी राख्नुपर्ने बताउनुभयो। कामपाले विषेश गरी सरकारी कार्यालय, विद्याद्यालय, मन्त्रालय, अस्पताललगायत सम्वेदनशील क्षेत्रमा रहेका कुकुरको व्यवस्थापन शुरु गर्ने जनाएको छ।