केडिया अपहरणमा संलग्न दुई अपहरणकारी पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
पर्सा प्रहरीले वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतोलाई पक्राउ गरेको हो।
भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट दुवैलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पासवान र महतोलाई पक्राउ गरेको हो।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने दुवै जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको दाबी गर्नुभयो। यद्यपि उनीहरूलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको दाबी स्थानीयको छ।
प्रहरी उपरीक्षक ढकालका अनुसार पक्राउ परेकामध्ये पासवान केडिया अपहरण काण्डका योजनाकार हुन्। महतोलाई भने अपहरित उद्योगी केडियाको गाडी चलाएकोे आरोपमा मुद्दा दर्ता रहेकाले पक्राउ गरिएको छ।

उद्योगी केडियाको अपहरणपछि भारतीय सीमावर्ती क्षेत्रमा बसेर बेला–बेला नेपाल आउने गरेको सूचना पाएपछि विशेष सुराकीको आधारमा दुवैलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो।

केडिया अपहरणसम्बन्धी मुद्दा जिल्ला अदालत बारामा दर्ता भएकाले दुवैलाई जिल्ला प्रहरी कार्यालय बारामा पठाइने भएको छ।

यसअघि केडिया अपहरण काण्डमा संलग्न भएको भन्दै बारा प्रहरीले बाराको महागढीमाईका वीरेन्द्र यादव, कबही जब्दीका जियालाल यादव, वीरेन्द्र यादव, जियालाल यादव र चन्चल पाण्डेसहित पाँच जनालाई २०७३ जेठमै पक्राउ गरेको थियो। उनीहरू पाँचैजना पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका छन्।

केडिया अपहरणकाण्डका मुख्य योजनाकार भारतीय कुख्यात अपराधी बब्लु दुबे भन्ने मिथिलेश मिश्राको भने २०७४ वैशाख २८ गते भारतीय प्रहरीले भारतको बेतिया अदालतमा हाजिर गराउन लगेका बेला अदालत परिसरमै अपरिचित दुई व्याक्तिले गोली प्रहार गरी उनको हत्या गरेका थिए। वीरगन्जका उद्योगी सुरेश केडिया २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरणमा परेका थिए।

अहपरणमा परेको तीन दिनपछि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले केडियालाई भारतको मोतीहारी नजिकैको कटौवा गाउँबाट उद्धार गरेको थियो।