दिनभर गिठ्ठी कुटेर गुजारा टार्नेलाई नारी दिवसको पत्तो छैन

0
Shares

धनवीर दाहाल, रुकुम ।

दिनभर गिठ्ठी कुटेर आफ्ना बालबच्चा पालीरहेकी रुकुम पश्चिम त्रिबेणी गाँउपालिका ३ की बिना बादीलाई न अन्र्तराष्ट्रिय महिला दिवसबारे थाहा छ नत कुनै राज्यका औपचारिक कार्यक्रम । ७ बर्ष पहिला आफ्ना श्रीमान गंगाराम अर्की श्रीमति लिएर भारत गएपछि छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्न बाध्य छिन ।

छोराछोरीको पढाईको त कुरै छाडौं कसरी पाल्ने भन्ने चिन्ता मात्र उनीसँग छ । उनले १४ बर्षदेखी गिठ्ठी कुटिरहेकी छन् । चार सन्तानकी आमा भइसकेकी वीना दिनभर गिठ्ठी कुटेर साँझ बिहानको छाकको जोहो गर्छिन् ।

बिना मात्र होइन त्रिबेणी १ कै मनकली परियार पनि दिनभर गिठ्ठी कुट्नमै व्यस्थ हुन्छीन् । मनकलीलाई कुनै दिवस र समारोहको पत्तै हुँदैन । आफ्नो हक अधिकारको पक्षमा कुन ठाँउमा के भइरहेको छ भन्ने कहिलै उनले थाहा पाइनन् ।

मनकलीलाई आफुले काम गरेको श्रमको मुल्य कति पाइरहेको छु भन्ने मात्र जानकारी छ । श्रम गरे अनुसार गिठ्ठीको मूल्य प्रति ट्याक्टर ५ हजार तथा प्रति कठ्ठा ७० रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताइन् । उनले “भनिन् मलाई मेरो श्रमको मुल्य कसरी पाँउ भन्ने चिन्ता छ कुनै दिवसबारे मलाई थाहै छैन ।” मुसिकोट नगरपालिका ४ की रत्ना खत्रीले महिला दिवस भनेर नारा जुलुश गरेको मात्र थाहा पाएको तर महिला दिवस किन र कसरी मनाइन्छ थाहा नभएको बताइन् । बिना बादी, मनकली परियार र रत्ना खत्री त प्रतिनिधि पात्र मात्र हुन् ।

दिनभर श्रम गरेर साँझ बिहानको छाक टार्न धौ धौ हुने पिडित महिलाका लागी महिला दिवसको पत्तो छैन । नारी दिवसका लागी बिभिन्न र्याली, सभा र समारोह आयोजना गरेर बजेट खर्च गरिन्छ । साँच्चीकै श्रम गरेर गुजारा चलाइरहेका महिलाको समस्या भने ज्युँका त्युँ छन् ।

दिनभर ज्याला गरेर साँझ बिहान छाक टार्न बाध्य महिलाहरुमा नारी दिवसको महत्व तथा नारी दिवस केका लागी हो भन्ने कुरा समेत थाहा नभएको महिलाहरु बताउँछन् । रुकुम पश्चिम जिल्लाका सबै स्थानिय तहहरुमा नारी दिवस भब्य रुपमा मनाइएको भनिएता पनि बिभिन्न र्याली र औपचारिक कार्यक्रममा मात्र सिमित देखिएको स्थानीयले बताएका छन् ।

दिनभरको ज्याला मजदुरी गरेर छाक टार्न धौ धौ हुने महिलाहरुको समस्या र उनीहरुको पिडाको बारेमा कसैको ध्यान नपुगेको गुनासो स्थानिय स्तरमा छ । समान कामको समान ज्याला व्यवहारमा कार्यान्वयन नभएको महिलाका पिडा छन् ।

नारी दिवसको दिन औपचारिक कार्यक्रम गरेर मात्र नारीको समस्या समाधान नहुने भएकोले बिद्यमान महिला माथी हुने गरेका हिंसालाई अन्त्य गर्न सरोकारवाला निकायहरु जुट्नु पर्नेमा महिला अधिकारकर्मीको भनाई छ ।