गीत मार्फत गुञ्जियो महिला अधिकार

0
Shares

ननिराम नेपाल , सिन्धुपाल्चोक ।

गर्छौ काम श्रीमानसँग खटेर

ज्याला हामीलाई दिइन्छ घटेर

१०९ औं अन्तराष्ट्रिय महिला दिवशका अवसरमा शुक्रबार बलेफीमा आयोजित लोक गीत प्रतियोगितामा प्रतियोगीहरुले यसरी गीत मार्फत महिला अधिकारका आवाज ओकले । महिला दिवशका अवसरमा आयोजित लोक गीत प्रतियोगितामा सहभागी महिलाहरुले गीत मार्फत अधिकारका कुरा मात्र उठाएनन्, नेपाली समाजको विद्यमान अवस्था उजागर गरिदिए ।

समान श्रमको समान ज्याला पाउनुपर्ने आवाजदेखि मौलाउँदो कुरीती र कुसँस्कारका विरुद्ध गीत मार्फत प्रहार गरे उनीहरुले । दुनियाँमा महिलाहरु पनि उच्च पदमा पुगिरहेको उल्लेख गर्दै महिलाहरुले अवसर पाए समाज बदल्न सक्ने सुनाए । ‘पुरुष महिला मिलेर नै घर धान्नेछौं’, लोक गीत प्रतियोगितामा सहभागी बलेफी गाउँपालिका ३ का महिलाहरुले गीतमार्फत भने, ‘अवसर पाए हामी समाज बदल्नेछौं ।’
गीतमार्फत राजनीतिक पहुँचका आधारमा समाजमा अपराध झाँगिदै गरेको महिलाहरुले सुनाए । अपराधमा राजनीतिक संरक्षण बढिरहँदा महिलाहरु पीडित बनिरहेको उनीहरुले वेदना पोखे । ‘राजनीतिको पहुँचका नाउँमा, अपराधी संरक्षण गाउँ गाउँमा’, महिलाहरुले भने ।

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा न्याय हराइरहेको भन्दै महिलाहरुले सरकारको कटाक्ष समेत गरे । निर्मला पन्तको बलात्कार र हत्या भएको ८ महिना कटिसक्दा पनि निर्मलाले न्याय नपाइरहेको गीत गाए उनीहरुले । ‘कट्यो ८ महिना, अझै किन निर्मलाले न्याय पाछैन ?’, गीतमार्फत यसरी महिलाहरुले खवरदारी गरे ।

गीतमार्फत स्थानीय महिलाहरुले अधिकारका आवाजसँगै न्यायका लागि नारा लगाइरहँदा कार्यक्रममा सहभागी प्रदेश सांसद सरस्वती बस्नेत, जिल्ला समन्वय समितिकी उपसभापति बालकुमारी सापकोटा, गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ(कायस्थ) लगायत मञ्चमा आसिनहरु भावुक बनिरहेका थिए । ‘गीतमार्फत दिदिबहिनीहरुले समाजको अवस्था उजागर गर्नुभयो, समानता र न्ययका नारा लगाउनुभयो’, प्रदेश सांसद वस्नेतले भनिन् ।

गीतमा निर्मला पन्तको हत्याको विषय उठान भएपछि सांसद बस्नेतले कार्यक्रममै त्यसको जवाफ दिएकी थिईन ।‘सुनियोजित घटना प्रकरणहरु छानविनमा ढिलाई नै हुँदोरहेछ’, सांसद बस्नेतले भनिन्, ‘मदन भण्डारी हत्याकाण्ड र राजदरवार हत्याकाण्ड पनि यस्तै सुनियोजित घटना हुन्, यी घटनाहरु अझै छानविन टुंगिएका छैनन् ।’ महिला अधिकार, समानता र न्यायका निम्ति लोकगीत प्रतियोगिताले महत्वपूर्ण सन्देश दिएको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ(कायस्थ)ले बताईन् ।

अन्तराष्ट्रिय महिला दिवशका अवसरमा शुक्रबार समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका(सिविस) को सहयोगमा बलेफी गाउँपालिकाले वडास्तरीय लोक गीत प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बलेफी गाउँपालिकाका ८ वटै वडाबाट महिला समुह सहभागि भएका थिए । ३ नम्बर प्रदेश सभाकी सदस्य सरस्वती बस्नेतले लोकगीत प्रतियोगिताको उद्घाटन गरेकी थिईन् ।

प्रतियोगितामा वडा नम्बर ५ को महिला समुह प्रथम भएको छ । त्यसैगरि वडा नं नम्बर २ द्धितिय भएको छ । वडा नम्बर ४ तृतिय भएको छ । कार्यक्रममा महिला नेतृ अमृता नेपाल, उमा प्रधान, सिविसकी कार्यक्रम संयोजक कृति बैद्य, वडाध्यक्ष चरिबहादुर तामाङ, विकास श्रेष्ठ, छविलाल न्यौपाने, बीरमान तामाङ लगायत स्थानीय महिला अगुवाहरुसहित तिन सय बढि महिलाहरु उपस्थित थिए ।