अन्तर्राष्ट्रिय महिला दिवस, कठिन श्रमजीवि महिलाको खोजीखोजी सम्मान

0
Shares

हेटौंडा,(नेस) ।
एक सय ९ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मकवानपुरका कठिन श्रमक्षेत्रमा कार्यरत् महिलालाई नगदसहित सम्मान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले दैनिक मजदुरी गर्ने, निर्माण क्षेत्रमा मिस्त्रीको काम गर्ने र सवारीचालकका रुपमा काम गर्दै आएका ४७ महिलालाई प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरुलाई सम्मानसँगै स्वास्थ्य शिविरमार्फत् उपचार गरिएको छ ।

काम गरेर खाने श्रमिक वर्गको उपेक्षा भइरहेको समयमा उनीहरुको श्रमलाई सम्मान गर्न कार्यक्रम गरिएको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो । विदेशमा साना काम गरे पनि त्यसको उच्च मूल्यांकन हुने तर नेपालमा हेप्ने परम्परा भएकोले श्रमिक महिलालाई सम्मान गरिएको बताउँदै उहाँले भन्नुभयो–कुनकुन क्षेत्रमा कठिन श्रम गरेर जीवनगुजारा गरिरहेका महिला छन्, उनीहरुलाई खोजीखोजी सम्मान गरेका हौं ।

‘लैंगिक समानताका लागि समान सोच र व्यवहार–समृद्धिको आधार’ भन्ने मूल नारासाथ कार्यक्रम गरिएको हो । उपमहानगरपालिकाले घर निर्माण गर्दै आएकी डकर्मी प्रमिला कँडेल, पार्वती बर्तौला, शर्मिला राई, मजदुर गीता श्रेष्ठ र सुनिता श्रेष्ठलाई मेयर महतले प्रशंसापत्र, नगद र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

अटो, मयुरी, टेम्पो, माइक्रो चालक महिलाहरु गंगाकुमारी थापा, लक्ष्मी बिक, तारा सुनार, मंगलीमाया प्रजा, मालती मोक्तान, गीता मैनाली, कोपिला गौतम, कुमारी राना, रिना मगरलगायत ४२ चालकलाई सम्मान गरिएको हो ।

यसअघि महिला दिवस थाहा नपाएको तर सम्मानित हुन पाउँदा खुशी मिलेको निर्माण मजदुर गीता श्रेष्ठले बताउनुभयो । श्रम क्षेत्रमा काम गर्दा जुनसुकै समयमा पनि अपहेलित भएको गुनासो गर्दै आएका महिलाले सम्मानित भएकोमा खुशी व्यक्त गरेका छन् ।

हरेक दिन अरुको घर निर्माण गर्न, मजदुरी गर्न र सवारी चलाउने काम गर्दै आएका महिला आफ्नो स्वास्थ्य उपचार र सम्मानित हुन पाएको भन्दै उपमेयर मीना लामाले हरेक क्षेत्रमा काम गर्दै आएको नगरपालिकाले श्रमिक महिलाको क्षेत्रमा पनि राम्रा काम गरेर देखाउने बताउनुभयो ।

श्रमिक महिलाहरुलाई पाठेघर, स्तन क्यान्सरलगायत रोगको शिविर गरेर उपचार गरिएको मेयर महतले बताउनुभयो । शिविरमा नेपाल परिवार नियोजन संघ मकवानपुर र सहकारी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले श्रमिक महिलालाई सम्मान गरेर नमूनायोग्य काम गरिएको बताउनुभयो । राष्ट्रिय सौन्दर्यकर्मी नेपालका अस्मिता श्रेष्ठले सम्मानले महिलाको मनोवल उच्च बनेको भन्दै खुशी व्यक्त गर्नुभयो ।