शिक्षामा नयाँ आयाम ल्याउनुपर्ने प्रदेश सांसद के.सी.को भनाई

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

कपिलवस्तु ३(क)बाट निर्वाचित प्रदेश सांसद अर्जुन कुमार के.सी.ले शिक्षामा नयाँ आयाम ल्याउनुपर्नेमा जोड दिएका छन् । जिल्लाको शिवराज नगरपालिका ३, नयाँबस्तीस्थित दुर्गा भगवती माविको भवन सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद के.सी.ले यस्तो बताएका हुन् ।

प्रदेश सांसद के.सी.ले विद्यार्थीलाई टिकाउने, सिकाउने र सिकेकालाई विकाउने खालका जनशक्ति तयार गर्न शिक्षालाई स्तरीय बनाउनुपर्ने बताए । यसका लागि व्यवस्थापन समिति, अभिभावक, शिक्षक सबैले शैक्षिक गुणस्तरमा गम्भीर हुनुपर्ने धारणा राखे । शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधार महत्वपूर्ण पाटो भएकाले प्रदेश सरकारमा भवनको लागि पहल गरेको उद्घोष गरे । प्रदेश सरकारको ४० लाखको लागतमा निर्माण हुन लागेको चार कोठे भवन सिलन्यास गर्दै उनले जेठ मसान्तभित्रै पूरा गर्न सुझाव दिए ।

कपिलवस्तु जिल्ला शिक्षामा निकै पछाडि रहेको औल्याउँदै सांसद के.सी.ले शैक्षिक सुधार गर्नु सबैको दायित्व भएको बताए । मधेशमा झन वढी समस्या रहेकोले प्रदेश सरकारबाट क्रमशः सबै विद्यालयको स्तरोन्नतिमा आपूm कटिबद्ध भई लाग्ने प्रतिवद्धता जाहेर गरे ।

शिवराज नगरपालिका वडा न ३ का वडाध्यक्ष टेकलाल सापकोटाले विद्यालयको उन्नति, प्रगतिका लागि आफू जुनसुकै सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जाहेर गरे । स्थानीयको अथक प्रयासमा झुपडीबाट शुरुवात भएको विद्यालय अहिले यहाँसम्म आइपुगेको वडाध्यक्ष सापकोटाले स्मरण गरे । तर अहिले स्थानीय शिक्षाप्रति खासै जागरुक नहुँदा भने उनले चिन्ता व्यक्त गरे ।

विद्यालयको अवस्था सुधारका लागि आपूmले विगतदेखि नै पहल गरेको बताउँदै वडाध्यक्ष सापकोटाले यस वर्ष गेट निर्माणका लागि वडामार्फत बजेट छुट्टाएको जानकारी दिए । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले विद्यालयलाई बजेट विनियोजन गरे पनि स्थानीयले साथ नदिए औचित्यहीन हुने बताए । अध्यक्ष सापकोटाले पछिल्लो समयमा विद्यालयमा शिक्षाको गुणस्तरीय नभएको भन्ने गुनासो आएकाले विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराए ।

भवन सिलन्यास कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले कपिलवस्तु जिल्लाको शिक्षा सुधारमा अभियान नै संचालन गर्नुपर्ने बताए । शैक्षिक सुधारका लागि प्रदेश तथा स्थानीय तहमा पहल गर्न समेत जनप्रतिनिधिहरुलाई पोखरेलले आग्रह गरे । बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्ने औल्याउँदै पोखरेलले विद्यालयलाई आवश्यक स्रोत साधन सरकारले पूरा गर्नुपर्ने धारणा राखे ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष छविलाल भुषालले विद्यालयलाई विद्यार्थीहरुको रोजाईको बनाउने प्रयासमा लागेको वताए । विद्यालयमा भवन बन्ने भएपछि विद्यार्थी तथा अभिभावकहरु खुसी भएका छन् ।