जनजीवनसँग जोडिँदै हिमाल, ‘भर्जिन’ जुगलमा प्रथम आरोहण हुँदै

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

जुगलको हिउँ देखाएर राजधानी काठमाडौं, काभ्रे लगायतका जिल्लाहरुले मनग्य आम्दानी गरिरहेका बेला सिन्धुपाल्चोकले काखैको हिमाललाई उपयोग गर्न सकेन नै । सिन्धुपाल्चोकले शीरमा जुगल सजाएर पर्यटकीय संभावनाका थुप्रै हिमालहरुको उपयोग गर्न नसकिरहँदा भर्जिन हिमाल जुगलमा आरोहण खुला हुने भएको छ ।

आरोहणको आरम्भ गर्दै जनताका जीवनसँग जुगल हिमाललाई जोडिँदैछ । साताअघि जुगल गाउँपालिकाले राजधानीमा बृहत अन्तरक्रिया र पत्रकार सम्मेलन गर्दै आगामी चैत्र १५ देखि जुगल हिमालमा पहिलो आरोहणको समय तय गरिएको जानकारी दिएको छ ।

विहिवार काठमाडौको तिनकुनेस्थित सिदार्थ कटेजमा जिल्लाका मन्त्री, सांसद तथा सरोकारवालाबिच प्रथम जुगल आरोहणलाई सफल बनाउनेबारे छलफलसमेत भएको छ । जुगल गाउँपालिकाको आयोजनामा ३ नं. प्रदेश सरकारको मुख्य सहयोग र सिन्धुु पर्यटन परिषदको सहजीकरण तथा पर्यटन संवद्ध निकाय र गैर सरकारी संघसंस्थाहरुको सहयोगमा प्रथम जुगल हिमाल आरोहण कार्यक्रम तय भएको हो ।‘चैत्र १५मा प्रथम जुगल आरोहण हुनेछ, आरोहीहरु गुम्बा– तेम्बाथाङ–छेन्दाङ–नेपेमासाल–बुम्बाशेर्पु–आधारक्षेत्र, हाइक्याम्प हुँदै समिट (शिखर) सम्म पुग्नेछन्’, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने,–हिमाललाई जनताको जीवनसँग जोड्ने हाम्रो संकल्प अब पुरा हुँदैछ ।’

जुगल गाउँपालिकासँगै सिन्धुपाल्चोकको समग्र पर्यटकीय विकासका लागि जुगल हिमाल आरोहणको कार्यक्रम तय गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार हिमाल आरोहणका लागि सम्भाव्यता अध्ययन, रुट पहिचान तथा निर्धारण लगायतका कार्य भएकोले सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो चरणमा हिमाल आरोहणका बिज्ञ टोली यसमा सामेल हुनेछन् । यो आरोहण अवधि २० देखि ३० दिन रहन सक्ने अनुमान गरिएको छ ।

जुगल हिमाल आरोहण खुला गर्दै पर्यटन प्रवद्धनको सुरुवात गरिएपछि यतिबेला जुगलभेगमा उमंग छाएको छ । जुगल आरोहण खुला भएपछि जुगल गाउँपालिका मुलुककै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने स्थानीय अगुवाहरु बताउँछन् । ‘जुगल हिमाल एउटा गन्तव्य हो, आरोहण खुला भएपछि पर्यटकीय रुटको विकास हुनेछ र जनताका जीवन बदलिनेछ’, स्थानीय अगुवा कृष्ण घिमिरे सुनाउँछन् ।
जुगलमुनिको जीवन

शीरमा जुगल हिमाल छ, त्यही हिमालमुनिका मान्छेहरु जीवन धान्ने आधार खोजिरहे बर्षौदेखि । जुगल चुचुरोका हिउँ पग्लिएर आजसम्म कति पानी बग्यो, तर जुगलमुनिका जनताका दुख कहिल्यै बगेन । उस्तै छ अभाव, उही छ दुख । दैनिक जीवनयापन नै दुखजिलो छ, शिक्षा स्वास्थ्य सेवाको सुविधा सपना नै छ जुगलमुनिका जनताका लागि । जुगलमुनिका जनताका जीवन देख्ने मान्छे बिरलै छन् । मन्त्री, सांसद र नेताहरु चुनावका बेला पनि हतपत यो भेगमा पुग्दैनन् । संघसंस्थाका नजर जुगलका सुगम भेगमै केन्द्रित छन् ।

निश्चयपनि जुगल आरोहण आरम्भ हुन लाग्दा यसभेगका स्थानीयमा उमंग छ । ‘पर्यटकीय रुट स्थापित भइसकेपछि जुगलको पर्यटन स्थानीय जनताका जीवनसँग जोडिनेछ, आरोहण खुला भएपछि पर्यटक आगमन भइरहनेछ’, गाउँपालिका अध्यक्ष श्रेष्ठ सुनाउँछन् । आरोहण खुला भएपछि जुगल रुटका स्थानीयले पर्यटन व्यवसाय र मजदुरीका माध्यमबाट आयआर्जन गर्ने विश्वास लिइएको छ ।