खोटाङमा भ्यु टावरसहितको जलपार्क निर्माण शुरु

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको रमणीय स्थल बगरे भञ्ज्याङमा भ्यु टावर सहितको कृतिम ताल निर्माण शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, १० पाथेका र ११ खार्मीको सिमानामा पर्ने बगरेभञ्ज्याङमा भ्युटार सहितको जलपार्क निर्माण शुरु गरिएको हो ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पेन (कलम) आकारको भ्युटावर सहित १ सय ८० मिटर लम्बाई र १ सय ५० मिटर चौडाई हुने ताल निर्माण शुरु गरिएको हो । प्राकृतिक रुपमा नै पोखरीको अवस्थिती रहेको स्थानमा बर्षातको पानी जम्मा गरेर ताल निर्माण गरिने जनाईएको छ ।

नगरपालिकाको दुई करोड ५७ लाखको लागतमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी जलपार्क तथा टावर निर्माणको काम शुरु गरिएको हो । नगरपालिकाको क्रमागत योजना अन्तरगत यस आर्थिक वर्षमा ५४ लाख बजेटबाट काम शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’, पूर्वसभाषद् दुर्गाजयन्ती राई, नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

दिक्तेल–पाथेका सडक खण्डमा पर्ने बगरेभञ्ज्याङमा निर्माणाधीन पोखरीले जिल्लाको पर्यटन प्रवद्र्दनमा सघाउ पुग्ने बताईएको छ । चारैतिर घना जङ्गल रहेको उक्त ठाउँमा निर्माणाधीन तालमा डुङ्गा सयर गर्न मिल्नेगरी संरचना बनाइने नगरप्रमुख दिपनारायाण रिजालले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरेभञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्ग निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ ।

सदरमुकाम दिक्तेलबाट करीब नौं किलोमिटर टाढा रहेको बगरेभञ्ज्याङलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना बनाइएको छ ।

समुन्द्री सतहदेखि करीब एक हजार ८ सय मिटर उचाईमा रहेको बगरेभञ्ज्याङ आसपास लालीगुँरास, चाँप, सुनाखरी लगायतका फूल पाइन्छ । मृग, हरिन, घोरल, खरायो लगायत जङ्गली जनावर भेटिने बगरेभञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर जस्ता चराचुङ्गी देख्न पाइन्छ ।

निर्माणाधीन पोखरीबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडा लगायतका स्थान जाने पदमार्ग निर्माण गरिने योजना बनाइएको छ ।