सरोज यादव, विराटनगर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले नटेरेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहांले भन्नुभयो– शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनु भएन त्यही भएर मैले जवाफ दिएको हुँ ।
नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताउनुभयो । नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पार्नुभयो । उहांले पार्टीको चौधौं महाधिवेशन समयमै हुने दावी गर्नुभयो । आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको समेत सभापति देउवाले बताउनुभयो ।
चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको बताउनुभयो । सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको कुरा उठाएको विषय सुने पनि आफूसम्म त्यो कुरा आइनपुगेको बताउनुभयो । वाईडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताउदै उहाँ स्वस्थ भएपछि कुरा गर्ने जानकारी दिनुभयो ।











प्रतिक्रिया