बञ्चरे ल्याण्डफिलमा दर्जन योजना: एक बर्ष भित्रै फोहोर व्यवस्थापन हुने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले बञ्चरे डाँडा ल्याण्डफिल साइटको एक दर्जन बढी संरचना निर्माण गर्ने कामलाई तीव्रता दिएको छ ।

अबको एक वर्ष भित्र ती संरचना निर्माण हुने भएका छन् । सिसडोल ल्याण्डफिल साइटमा उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि विभागले नयां काम अघि बढाएको हो ।

सरकारले २०६२ सालमा नै ३ बर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर लक्षित समयको एक दशक बितिसक्दा बञ्चरे डाँडाको पूर्वाधार बन्न नसकेपछि काठमाडौ महानगरपालिका लगायत स्थानीय निकायले सरकारलाई गुहारेको थियो ।

सरकारले बञ्चरेडाडा ल्याण्डफिल साइटको संरचना निर्माण गर्न विभागलाई जिम्मा दिने निर्णय गरेपछि दोस्रो चरणको नया काम शुरु भएकोे हो । विभागले नयां संरचना निर्माण गर्न टेण्डर आब्हान गरेको छ ।

विभागका सुचना अधिकारी चन्द्रशेखर महतकोका अनुसार अब बन्ने नया संरचनामा फाहोरमैला व्यवस्थापनको लागि स्थान निर्माण, ल्याण्डफिल साइटको इन्जिनियरिङ डिजाइन बमोजिम जमीन तयार गर्ने,लिचेड पोखरी निर्माण, सडक निर्माण, कार्यालय भवन, गार्ड हाउस, ग्यारेज, वेट ब्रिज निर्माण, गेट लगायत एक दर्जन संरचना निर्माण गर्ने योजना रहेको छ । एक वर्षभित्र संरचना निर्माण गर्ने तयारीका साथ प्रकृया अघि बढाइएको उहाले जानकारी दिनुभयो ।

उहाले सिसडोलको विकल्पको रुपमा रहेको बञ्चरे डाँडामा चाडै फोहोर व्यवस्थापन हुने दावी गर्नुभयो । ‘सकभर एक वर्षभित्र संरचना निर्माण गर्नेछौ, त्यस लगत्तै बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नेछौ’–उहाको भनाई थियो ।

अहिले बञ्चरेडाडा ल्याण्डफिल साइट पुग्ने बाटो पिच भैरहेको छ । काठमाडौ महानगरपालिका फोहोर व्यवस्थापन विभागका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले २२ करोड रुपियामा ठेक्का पाएको कम्पनीले धमाधम बाटो पिच गरिरहेको जानकारी दिनुभयो ।

चार महिना भित्र बाटो पिच सकिन्छ त्यसपछि पुर्वाधार निर्माण गरे लगत्तै फोहोर व्यवस्थापनको काम शुरु गर्नेछौ –उहाले भन्नुभयो । तर १५ वर्षदेखि पूर्वाधार बन्न नसक्दा अहिले सबै निकायको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ ।

सरकारले नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरे डाँडाको जग्गा प्राप्तिको काम सकेर वातावरणीय प्रभाव मूल्याङ्कन पनि गराइसकेको छ । यसअघि बञ्चरेडाँडामा पूर्वाधार निर्माण गर्ने क्रममा झण्डै १ अर्ब रुपैयाँ सकिएको छ । अधिग्रहण भएका जग्गाको मुआब्जा बाँड्न, हिमपाइप हाल्न, वृक्षारोपण गर्न, पुल बनाउन उक्त रकम खर्च भएको हो ।

विश्व वातावरण दिवसको अवसरमा २०६२ साल जेठ २२ गते अर्थात् सन् २००५ जुन ५ तारिखमा काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो ।

स्थानीयले सिसडोलमा जस्तो मनपरी रुपमा बञ्चरेडाडामा फोहोर व्यवस्थापन नगर्न आग्रह गरेका छन । केहीदिन अघि ककनी गाउपालिकाका प्रमुख, उपप्रमुख, वडा नम्बर १ , २ र ३ का पदाधिकारी बैठकले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बैठकमा कामपा फोहोर व्यवस्थापन विभाग प्रमुख हरीकुमार श्रेष्ठ, कामपाका अधिकारी लगायतका उपस्थिति रहेको थियो । उता स्थानीय संघर्ष समितिका सहसंयोजक श्रीराम ढुंगानाले अति प्रभावित क्षेत्रमा पर्ने ५ हजार रोपनी जग्गा खरिद गर्न करिब ५ अर्ब र बञ्चरेडाडा वरपर पुर्वाधार विकास गर्न करिब २ अर्ब गरी करिब ७ अर्ब रुपिया खर्च नगरे बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नसकिने बताउनुभयो ।

उहाले भन्नुभयो–स्थानीय पिडीत जनतासंग सम्झौता नगरी एकलौटी रुपमा फोहोर व्यवस्थापन गरे समस्या पर्ने र दुइतर्फी द्धन्द्ध उत्पन्न हुने उहाले दावी गर्नुभयो ।

सरकारले ऐलानी सहित बञ्चरेडाडा ल्याण्डफिलको लागि भन्दै करिब १ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
अहिले दैनिक झण्डै ९ हजार टन फोहोर व्यवस्थापन हुने गरेको छ । हाल सिसडोल ल्याण्डफिल साइटमा उपत्यकाको १८ स्थानीय तह सहित धादिङ, काभ्रे र नुवाकोट जिल्लाका केही स्थानीय तहको फोहोर व्यवस्थापन हुने गरेको छ ।

सिसडोलमा कामपाको करिब २० सवारी साधनले दैनिक रुपमा फोहोर ओसार्ने गरेको छ । अन्य जिल्ला र निजी क्षेत्र समेत गरी दैनिक करिब १ सय ५० सवारी साधनले फोहोर ओसार्ने गरेको छ ।