प्रहरी कर्मचारीलाई आईजीपी खनालको सन्देशः निर्धक्क भई काम गर्नुस

0
Shares

सुर्खेत, २३ फागुन
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले जनताको सेवा गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आउने जस्तोसुकै चुनौति र बाधा अडचनसँग नडराई निर्धक्क भई उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई बिहीबार साँझ निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालना गरी नागरिकको सेवामा हरदम तल्लीन हुनुपर्ने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

समय अनुसार अझ परिष्कृत एवं व्यवसायिक प्रहरी सेवाद्वारा नागरिकको अपेक्षा पूरा गर्न हरदम कर्तव्यरत रहेको अवस्थामा यो सेवालाई अझै प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो ।

जघन्य अपराध र अपराधीप्रति विवेकसम्मत कठोर हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गैरकानुनी क्रियाकलापप्रति कुनै पनि सम्झौता गर्न नहुने बताउनुभयो । पीडितलाई न्याय दिने, आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग नजिक रहेर काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले राम्रा उद्देश्यले गरेका कार्यमा सदैव संगठनको साथ रहने बताउनुभयो । प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न गराईने उल्लेख गर्दै उहाँले प्रहरी कार्यसँगै कार्यालय, कार्यालय परिसर तथा व्यक्तिगत सरसफाई चुस्त दुरुस्त राख्न प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय तथा कार्यालय परिसरको अनुगमन निरीक्षण समेत गर्नुभएको थियो ।