भूकम्पले सुकेको बस्तीमा डिप बोरिङबाट पानी

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।

गोदावरी नगरपालिका–८ डुकुछापका बासिन्दा असाध्यै खुशी छन । खुशी यो मानेमा कि २०७२ को विनाशकारी भूकम्प पश्चात बस्तीमा हाहाकार भएको खानेपानीको समस्या हल भएपनि स्थानीय खुशी भएका हुन् ।

डुकुछापले भूकम्प पश्चात दैनिक जसो खानेपानीको समस्या झेल्दै आईरहेका थिए । अब त्यस्तो समस्या स्थानीयलाई पर्ने छैन । सो वडाको खहरेखोला नजीकै रहेको भुतमुलमा बिहिवार बोरिङको कार्य सुरु भएको छ ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले लामो समयदेखि देखिएको खानेपानीको समस्यालाई समाधान गर्नका लागि डिप बोरिङको कार्य अगाडि बढाईएको बताउनुभयो ।

उहाँले बोरिङबाट आएको पानी छिटै वितरण प्रणालीमा लैजाने बताउनु भएको छ । स्थानीय निर्वाचनका समयमा स्थानीयवासीसँग गरिएको प्रतिवद्धता अनुसार नै आफूले उक्त योजना त्यस स्थानमा लगेको उहाँले बताउनुभयो । सो स्थानबाट करीव ६ इञ्चको पाईपमा पानी आउने छ ।

बोरिङवाट आउने पानीलाई सहज रुपमा छिट्टै स्थानीयवासीलाई वितरण गरेर लामो समयदेखिको खानेपानी समस्यालाई समाधान गर्न आतुर रहेको वडा अध्यक्ष सुकवहादुर लामाले बताउनुभयो ।

पानी वितरणका लागि आवश्यक पर्ने पाईप तथा ट्याङ्की निर्माण कार्यलाई पनि छिट्टै तीव्रता दिइने उहाँले बताउनुभयो । यस अघि नगरपालिकाकै वडा नं १० स्थित मुलडोल र चारघरे तथा वडा नम्बर ९ स्थित छम्पीमा डिप बोरिङ सम्पन्न भईसकेको छ ।