अन्नपूर्ण गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु, गाउँमै सरकारी सेवासुविधा पाउँदा स्थानीय हर्षित

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखमा बिहीबारदेखि एकीकृत घुम्ती शिविर सुरु भएको छ । सदरमुकाममा रहेको सरकारी सेवा सुविधालाई गाउँगाउँमा पु¥याउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना र गाउँपालिकाको समन्वयमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गम गाउँमा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ज्येष्ठनागरिक, अपाङ्गता तथा अशक्त व्यक्तिहरु र आर्थिक रुपमा विपन्न सर्वसाधारणहरुले सेवा पाउनुपर्ने बताए । उनले ग्रामीण भेगमा सञ्चालन गरिएको शिविरले स्थानीयलाई राहत मिल्नुका साथै उनीहरुले भरपुर रुपमा सेवाको उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले एकीकृत घुम्ती शिविरमार्फत नेपाली नागरिकताको प्रमाणपत्र, अपाङ्गता परिचयपत्र तथा ज्येष्ठनागरिक परिचयपत्र वितरण गरिएको बताउँदै किसानहरुलाई कृषिजन्य बिउबिजन, पशु सेवा, स्वास्थ्य लगायतका विभिन्न सेवाहरु उपलब्ध गराइएको जानकारी दिए । घुम्ती शिविरमार्फत स्थानीयवासीलाई लक्षित गरेर सरकारी सेवासुविधाहरु नागरिकको घरदैलोमै ल्याइएको बताउँदै प्रजिअ अधिकारीले समाजमा शान्तिसुरक्षा कायम गर्न र जनताको सेवालाई प्राथमिकता दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले जनतालाई जिल्ला सदरमुकामसम्म पुगेर सरकारी सेवासुविधा लिन झन्झटिलो र खर्च बढी लाग्ने भएकाले गाउँपालिकाको समन्वयमा शिविर आयोजना गरिएको बताए । शिविरको अवसरमा प्रजिअ अधिकारीले शिखकी ६१ वर्षीया सुकमाया तिलिजा पुनलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

शिविरको औपचारिक उद्घाटनसत्र गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दी सदरमुकाम बेनीबजारसम्म पुगेर नागरिकता बनाउनेलगायत सरकारी सेवासुविधा गाउँमै पाएपछि समयको सदुपयोग र पैसाको समेत बचत भएको अन्नपूर्ण–६, घारकी पुष्पा बानियाँ बरुवालले अनुभव सुनाएकी छिन् । शिखका तेसराम पूर्जाले जिल्लामा उपलब्ध सेवासुविधा आफ्नै गाउँबाट लिन पाउँदा खुसी लागेको बताए ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म सञ्चालन हुने एकीकृत घुम्ती शिविरमा नागरिकता, अपाङ्गता परिचयपत्र र ज्येष्ठनागरिक परिचयपत्र वितरण, किसानलाई तरकारी र फलफुल लगायतको बिउबिजन वितरण, पशु सेवा, स्वास्थ्य चेकजाँच, विभिन्न सिफारिस, मालपोतसम्बन्धी परामर्श सेवा, फोटोसहितको मतदाता नामावली सङ्कलन र व्यवसाय दर्तासम्बन्धी सेवासुविधाहरु उपलब्ध रहेका छन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले विद्यार्थीहरुको सहभागितामा लागूपदार्थ दुव्र्यसनी विरुद्धको कक्षा सञ्चालन तथा शान्तिसुरक्षा र हिंसा न्युनीकरणसम्बन्धी विषयमा सहजीकरण गर्ने जनाएको छ ।
शिविरमा अन्नपूर्ण गाउँपालिकाको विभिन्न वडाका स्थानीयवासीले सेवा लिइरहेका छन् ।

दुर्गम तथा विकट गाउँमा सञ्चालन गरिने शिविरले सर्वसाधारणलाई सदरमुकामसम्म पुगेर पाउने सरकारी सेवासुविधाहरु घरदैलोमै पाएपछि उनीहरुलाई सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य, समय र खर्चको बचत भएको छ । गाउँमै सेवा पाउँदा उनीहरु मख्ख परेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयले धौलागिरीको मराङ, मालिकाको देवीस्थान, मंगलाको कुहुँ र रघुगंगाको कोटगाउँमा घुम्ती शिविर सञ्चालन गरिसकेको छ ।