प्रहरीद्वारा विप्लवका कार्यकर्ताको घरमा छापा, ठुलो मात्रामा हतियार बरामद

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका ९ मा बिप्लव नेतृत्वको नेकपा कार्यकर्ताको घरमा छापा मारेको छ । साबिक शिवगढी गाविसको तुरुन्तपुर, भगवानपुर लगायतका गाउँमा छापा मारेको हो ।

छापा मार्दा प्रहरीले तुरुन्तपुरमा दुर्गा वहादुर रोकाको घरवाट हतियार वरामद गरेको छ । हतियार सहित प्रहरीले रोकालाई पक्राउ गरेको छ । रोकाको घरवाट प्रहरीले एसएमजी दुई नाल, त्यसको म्यागजीन ३थान, ६८ राउण्ड गोली तथा चाईनीज पेस्तोल एक थान त्यसको म्यागजी २ थान र ३ थान गोली साथै एन सिक्सटीन हतियारको १२९ राउण्ड गोली, वायरिङ तार ४० मिटर र रिमोट एक थान वरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भगवानपुरमा यादव चन्दको घरमा छापा मार्दा तनाव सिर्जना भएको थियो । नेपाल राष्ट्रिय आधारभूत बिधालयका प्रधानाध्यापक समेत रहेका चन्दको घरमा छापा मार्दा विद्यार्थी र स्थानीयले प्रहरीलाई अवरोध पुर्‍याएका थिए। स्थानीयको अवरोधका कारण प्रहरीले चन्दको घरमा भने छापा मार्न सकेन ।

चन्दले प्रहरीले विना पुर्जी छापा मार्न खोजेकाले विवाद भएको वताएका छन । स्थानीयले पक्राउ परेका रोका निर्दोष रहेको, प्रहरीले अनाहकमा फसाउने काम गरेको भन्दै रिहाईको माग गर्दै प्रदर्शन समेत गरेका थिए ।