सलिम अन्सारी, प्युठान
तपाई फेसबुक, भाइबर, ह्वाट्स एप, इमो जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्नुहुन्छ ? कतै तपाईलाई त्यस्ता सामाजिक सञ्जालमा चिठ्ठा परेको म्यासेज, तस्विर र भ्वाइस मेसेज त आएको छैन ! यदी त्यस्ता मेसेज तपाईलाई आएका छन् भने सजग हुनुहोस्, त्यसो म्यासेज, कलहरु तपाईलाई ठगीको शिकार बनाउने उद्देश्यले गरिएका हुन सक्छन् ।
प्रविधिको युगमा अपराधिक कार्यमा संलग्न हुने, ठगी गर्नेले इन्टरनेटको दुरुपयोग गर्दै ठगीको प्रयास गरेको खुल्दै आएको छ । बुधवार प्युठान सरुमारानी ४ आर्नेटोल कि स्मृती बिश्वकर्मा लाई २५ लाख भारतिय रुपैयाँको चिठ्ठा परेको जानकारी इमोमा आयो । इमोमा म्यासेज सँगै उनलाई दर्जनौं पटक कल आए । इमोमा पठाइएको नक्कली चिठ्ठामा २५ लाख भारतिय रुपैयाँ परेको र एउटा भारतिय मोबाईल नम्वर सेभ गरी कल गर्न भनिएको थियो ।
स्मृतीले भारतको नाम देखिएको इमोबाट आएको कल रिसिभ गरे । कलमा भनियो– ‘पुरस्कारका लागि आफ्नो नागरिकताको फोटोकपी पठाउनुहोस् हामी आइएमइ गरी तपाईलाई रकम पठाइ दिने छौं ।’ स्मृतीलाई उक्त नम्बरमा फोन गरी बिस्तृतमा बुझेर रकम प्राप्त गर्न सुझाव समेत दिइएको थियो, चिठ्ठाबारे कसैलाई नबताउन कलरले चेतावनी पनि दिएका थिए । उनलाई बैकंमा खाता खोल्न लगाईयो । त्यसपछि त्यस्को आधा घण्टामै खातामा पैसा पठाईने भनियो।
स्मृती २५ लाखको चिठ्ठा परेको भनेपछि खुशीले गद्गद् भईन ।
तर, रकम प्राप्त गर्न माग गरिएको २५ हजार उनीसँग थिएन । उनले ऋृण काढेर २५ हजार जुटाईन । यतिकैमा नेपाल समाचारपत्रकर्मी भेटिए । उनले सवै कुरा भनिन । पत्रकारले उक्त कल ठगीको भएको जानकारी दिएपछि उनको २५ लाख भारु पाउने आशा मर्यो, ठगिनबाट जोगिए । यस्ता ठगीका घटना धेरै भएका छन् । त्यसैले होला जिल्ला प्रहरी कार्यालय प्युठानमा ठगीको उजुरी परेको छैन, तर ठग्ने प्रयास भने भैरहेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानले मेहनतविनाको आकस्मिक लाभमा विश्वास नगर्न अनुरोध गरेको छ । ‘पार्सल, इमेल, सामाजिक सञ्जालबाट ठगीको प्रयासका घटना सुनेका छौं’, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले भने, ‘तर, प्युठानमा त्यस्तो उजुरी भने परेको छैन ।’ उनी अपराधीहरु ठग्नका लागि जुक्ति निकालिरहने भएकाले नागरिक आफै पनि सचेत हुनुपर्ने बताउँछन् ।
‘पसिनाको फलमा विश्वास गर्नुस्, रातारात धनी बन्ने, आकस्मिक रुपमा लाखौं रुपैयाँ कसैले दिन्छ भन्ने सोंच नराख्नुस्’, बुढाथोकीले भने, ‘कसैले कुनै पनि बहानामा आकस्मिक लाभका नाममा रकम माग्छ भने उजुरी गर्नुस्, हामी कारवाही गर्छौ, यसले अरुलाई पनि ठगीबाट बचाउँछ ।’ प्रहरी उपरीक्षक पौडेलले सामाजिक सञ्जालबाट हुने ठगीबाट जोगिन नचिनेका व्यक्तिहरुबाट साथी बन्न आउने अनुरोध अस्विकार गर्न सुझाव दिए ।











प्रतिक्रिया