अमेरिकाकी जेनर भइन् विश्वकै कान्छी अर्बपति, विनोद चौधरी १३४९ औँ स्थानमा

0
Shares

एजेन्सी । अमेरिकाकी काइली जेनर अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीय जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।

बीबीसीका अनुसार उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।

यस गतिमा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनिन्। कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए।

“मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ। मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ।” जेनरले फोर्ब्सलाई भनिन्, “तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ। कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ।”

सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन्। उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ।

अमेजनका संस्थापक जेफ बेजोस अर्बपतिहरूको शीर्ष स्थानमा छन् । तर फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ। फोर्ब्स सूचीका अनुसार गत वर्ष रहेको उनको सम्पत्ति ६२.३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८.७ अर्ब डलरले घटेको हाे।

यता नेपालबाट सन् २०१३ देखि लगातार अहिले पनि विनोद चौधरी अर्बपतिहरूको सूचीमा परेका छन् । उनी १३४९ औँ स्थानमा रहेका छन् । उनको स्वामित्वमा १.७ अर्ब डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ ।