भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा

0
Shares

साँखु, प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् ।

प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित नयाँ जीवन नेपाल नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गर्नुभयो ।

सो संस्थामा अपाङ्गता भएका २५ जना बालबालिका आश्रय लिइरहेका छन् । सो संस्थामा सोमबार आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य लामाले उक्त रकमको चेक संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य लामाले सामाजिक रीतिरिवाजमा हुने अनावश्यक खर्च रकम सामाजिक कार्यमा प्रयोग गर्नसके समाजमा सकारात्मक परिवर्तन आउन सक्ने बताउनुभयो ।

परम्पराका नाममा लाखौँ खर्च गर्ने संस्कार बढ्दै गएको अवस्थामा परोपकारी कार्यले सबैमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै उहाँले यस्ता कार्यमा आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने विश्वास व्यत्तः गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले उक्त संस्थालाई आफ्नो एक महीनाको सेवा सुविधा प्रदान गर्ने घोषणा गर्नुभयो ।

समाजसेवी तथा पूर्वलायन्स गभर्नर कुमारराज सुवेदीले सो संस्थालाई ४३ इञ्चको टेलिभिजनका साथै लायन्स क्लबसँग समन्वय गरी खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस