पचहत्तर हेक्टर जमीनमा ओखर खेती

0
Shares

रुकुम ।
रुकुम (पूर्व) मा ७५ हेक्टर क्षेत्रफलमा ओखर खेती शुरु गरिएको छ ।
जिल्लामा यसै वर्षबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ‘ओखर जोन’ कार्यक्रम लागू भएसँगै उक्त क्षेत्रफल जमीनमा ओखरखेती शुरु गरिएको परियोजनाका कार्यालय प्रमुख भीष्मराज रेग्मीले जानकारी दिनुभयो ।

तीन स्थानीय तह रहेको जिल्लामा ओखरखेतीका लागि पुथा उत्तरगङ्गाको ४०, सिस्नेको २० र भूमे गाउँपालिकाको १५ हेक्टर क्षेत्रफल जग्गामा ओखरखेती शुरु गरिएको बताइएको छ । कार्यव्रmम लागू भएसँगै किसानलाई आठ हजार ओखरका बिरुवा वितरण गरिएको छ । जिल्लाको पुथामा चार हजार ४००, सिस्नेमा दुई हजार र भूमेमा एक हजार ६०० ओखरका बिरुवा वितरण गरिएको कार्यालय प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

‘ओखर जोन’ लागू भएका सबै क्षेत्रको माटो परीक्षण पश्चात बिरुवा वितरण गरिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेको खजुराका विज्ञ खिमबहादुर केसीलगायत टोलीले माटो परीक्षण गरेको थियो । माटोमा पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गरिएको थियो ।

परियोजना सम्बधी जानकारी सबैमा होस् भनि सञ्चालक समिति गठन गरी तिनवटै स्थानीय तहका कृषि समूह, सहकारी, उद्यमी तथा जनप्रतिनिधिसँग अभिमुखीकरण गोष्ठी पनि परियोजनाले सम्पन्न गरेको थियो ।

यसवर्ष जिल्लामा ‘ओखर जोन’ कार्यक्रम लागू भएसँगै परियोजनाले नै ओखर बगैँचा व्यवस्थापनदेखि बजारीकरण र औद्योगीकरणसम्म सहयोग तथा सहकार्य गर्ने भएपछि ओखर खेतीप्रति आफूहरु निकै उत्साहित भएको कृषक कलबहादुर घर्तीले बताउनुभयो ।
रासस