ब्रह्मलुटको खबरपछि बजार अनुगमन

0
Shares

हेटौंडा, (नेस)
थाहा नगरपालिकास्तरीय हित संरक्षण समितिले थाहानगरको दामन सीमभञ्ज्याङका होटल तथा किराना पसल अनुगमन गरेको छ । उत्तरी थाहामा हिउँ परेसँग सीमभञ्ज्याङका होटल व्यवसायीले व्रह्मलुट मच्चाइरहेका खबर आएपछि समितिले बजार अनुगमन गरेको हो ।
थाहा–४ को दामनदेखि सीभञ्ज्याङसम्मका होटल तथा खाद्य स्टोर्समा अनुगमन गरिएको थाहा नगरपालिकास्तरीय हित संरक्षण समिति संयोजक तथा नगर उपप्रमुख खड्गबहादुर गोपालीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा केही पसलले तोकिएको मूल्य भन्दा बढी लिएको पाइएको छ  । मूल्यसूची नराखिएको, व्यवस्थापनमा कमीकमजोरी, सरसफाइमा ध्यान नदिइएको पाइएको छ । अन्तरिक तथा वाह्य पर्यटकलाई खानेकुरामा अत्यधिक मूल्य लिइएको भन्ने होटलमा कडा गरी अनुगमन गरिएको भन्दै विगतको तुलनामा भन्दा सुधारात्मक देखिएको बजार अनुगमन समिति संयोजक अनिल लामिछानेले बताउनुभयो ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै गरिएको अनुगमनका क्रममा उद्योगी, व्यवसायी तथा व्यापारीलाई मूल्यसूची राख्न, म्याद सकिएका सामान छुट्टै राख्न, म्याद हेरेरमात्र सामान खरिद बिक्री गर्न र उचित मूल्यमा सामान बिक्री गर्न आग्रह गरिएको छ ।