अस्पतालमा चारदिने शिशुको मृत्युः उपचार खर्च तिर्न नसक्दा आमाबाबु बन्धक

0
Shares

सरोज यादव, विराटनगर ।
विराटनगरको महेन्द्रचौकस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले शिशुको उपचारमा लागेको खर्च तिर्न नसक्दा चार दिने मृतक शिशुको शव र अभिभावकलाई रोकेर राखेको छ । अस्पतालले शिशुको उपचारका लागि आएका सुनसरीको बराह नगरपालिका–९ प्रकाशपुरका सूर्जा चन्द्रवंशी उनकी श्रीमती वुद्धि चन्द्रवंशीलाई अस्पतालमै रोकेर राखेको हो ।

सोमबार इनरुवा अस्पतालमा जन्मिएको बच्चाको टाउकोमा समस्या देखिएपछि सोमबार नै उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारका लागि भर्ना भएका शिशुको बिहीबार बिहान मृत्यु भएको थियो । शिशुको उपचारमा लागेको करिब २८ हजार रुपैँया तिर्न नसक्दा अस्पतालले सूर्जा र वुद्धिलाई घर जान नदिई बन्धक बनाएर राखेको हो । अस्पतालको बिल तिर्न नसक्दा मृत अवस्थामा रहेका छोराकोे दाहसंस्कारसमेत गर्न नपाएको मृतक शिशुका आफन्तहरुले बताएका छन् ।

अस्पतालमा चार दिन उपचार गर्दाको ७३ हजार ९ सय ५० रुपैयाँ बिल उठेको थियो । चन्द्रवंशी परिवारले ४५ हजार रुपैयाँ अस्पताललाई बुझाए पनि थप २८ हजार तिर्न बाँकी रहेको छ । मृतककी ठूली आमा रेखा चौधरीले उपचारका लागि गाउँबाट खोजेर ल्याएको पैसा सकिएको र अस्पताल प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि जान नदिएको गुनासो गरिन । बच्चा अस्पतालमा भर्ना गरेपछि आमालाई एकपटक पनि बच्चा हेर्न नदिएको मृतक शिशुकी आमा बुद्धि चन्द्रवंशीले गुनासो गरिन्।

आफन्तहरुले अस्पतालले आफ्नो बच्चासमेत साटेको हुन सक्ने आरोप लगाएका छन् । बच्चा उपचारमा ल्याउँदा ल्याउँदा निधारमा कोठी भएको र पछि निधारमा कोठी नभएको बच्चा देखाएको उनीहरुले बताएका छन् । सुर्जाले यसबारे उपचारमा संलग्न डाक्टरसँग बुझ्दा अस्पतालले प्रहरीमा बुझाउने धम्की दिएको बताए । अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले भने बच्चालाई अस्पतालले बन्धक बनाएको र बच्चा परिवर्तन गरेको भन्ने कुरा गलत भएको बताएका छन् । अस्पतालले सकेको छुट दिने बताउँदै उपचारमा लागेको पूरै पैसा छुट दिन नसक्ने बताए ।