कुचो लिएर मर्निङ वाक अभियान 

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वतको कुस्मा नगरबासीले  मर्निङ वाकमा निस्कदा बजार सफाई गर्न  कुचो लिएर निस्कने अभियान थालेका छन । दुई साता यता कुस्माबजारको बड्गाउँबासीले बजार सफाईका लागि कुचो अभियान शुरु गरेका हुन ।
प्रहरीले राजमार्ग सफाइ अभियान सुरु गरेको केही सातामै कुश्मावासीले बजार सफाइलाई अभियानका रुपमा निरन्तरता दिन थालेका छन । कुश्माका विभिन्न लायन्स क्लबहरु समाजसुधार सेवा मञ्च, सामुदायिक सेवा केन्द्र र जेसिज लगायतका संस्थाहरुले सफाइ अभियानको नेतृत्व लिएका छन् ।

कुश्मा आउने पर्यटकलाई सकारात्मक सन्देश दिन नियमित सफाइ अभियान सञ्चालन गरेको लायन्स क्लब अफ पर्वत चौतारीकी अध्यक्ष ईश्वरी पाठकले बताउनुभयो । ‘हरेक बिहान २ घण्टा मर्निङ वाकमै बित्छ,’ उहाँले भन्नुभयो  ‘साताको एक दिन मर्निङ वाकको समययता दिने गरी सफाइ अभियान सुरु गरेका हौं ।’

बजार क्षेत्रलाई सफाइमा नमुना बनाउने उद्देश्यले सुरु भएको अभियानमा नगरपालिकासँग पनि समन्वय हुने भएको छ । संघसंस्थाहरुले नगरपालिकालाई बजार क्षेत्रका घरघरै फोहोर राख्ने टोकरी वितरण गर्न आग्रह गरेका छन् । ‘कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि घरघरै डस्टबिन वितरण गर्न भनेका छौं,’ मञ्चका संस्थापक अध्यक्ष टंक लामिछानेले भने, ‘अहिले नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो दिएकाले छिट्टै हाम्रो माग पूरा हुन्छ ।’

कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि घरघरै डस्टबिन वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । ‘फोहोर व्यवस्थापनको चुनौती हटेको छ,’ नगरप्रमुख रामचन्द्र जोशीले भन्नुभयो– ‘अहिले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरेर व्यवस्थापन गरिरहेका छौं ।’ दुईवटा गाडी बजारमा पठाएर दुईथरी फोहोरको व्यवस्थापन सुरु गरिएको उनले बताए । बजार सफाइमा स्थानीयबासी र सरकारी कर्मचारीहरुको समेत साथ छ ।

कुश्माका मुख्य बजारमा किराना, तरकारी लगायतका पसल र होटल व्यवसायीले समेतआफ्नो व्यवसायको अघिल्तिर फोहोर फाल्ने भाँडाको व्यवस्था गर्न थालेका छन् । बटुवाहरुले जथाभावी फोहोर फालेको भेटेमा एउटा फोहोर फाल्नेलाई थप १० वटा टिपेर व्यवस्थापन गर्नुपर्ने नियम बनाइएको छ ।