मानव तस्करलाई पूर्वी नाका काँकडभिट्टा सहज

0
Shares

उत्तम नेपाल, भद्रपुर
जनचेतना फैल्याउने काम तीब्र रुपमा अगाडि बढाइएपनि मानव तस्करहरुले विभिन्न उपाय लगाएर नेपाली चेलीहरु  बेच्ने क्रम रोकिएको छैन । झापाको पूर्वी नाका काँकडभिट्टाको गेटमा नै माइती नेपाल सहितका धेरैं सङ्घ–संस्थाहरुले सचेतना अपनाउन आग्रह गरे पनि चेलीबेटी बेचिने क्रम नरोकिएको हो । झापाका मुख्य दुइ नाका काँकडभिट्टा र भद्रपुर भएर छिमेकी भारतसँगै तेस्रो मुलुकको गन्तव्यको रोजाइमा पर्ने गर्छन ।
दलालहरुले विभिन्न बहाना बनाएर विषेश गरी काँकडभिट्टाबाट धेरै नेपाली चेलीलाई लैजाने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । यसको मुख्य कारण वैदेशीक रोजगारी नै भएको पाइएको छ । बेचिनेमा अधिकांश अशिक्षित महिला नै रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए । सरकारले त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा कडाई गरेसँगै दलालहरुले विभिन्न नाकासँगै मुख्य गरी यी नाका प्रयोग गर्ने गरेकोे संयोजक घिमिरेले बताए ।
दलालहरुले रोजगारीको सपना देखाएर अवैध बाटोको प्रयोग गरेर भारत तथा बङ्गलादेशसम्म पु¥याउने अनि त्यस पश्चात इराक, लेबनान, पाकिस्तान लगायतका मुलुकहरुमा नेपाली चेलीहरुलाई बेच्ने गरेको महिलाको क्षेत्रमा काम गर्नेको अनुभव छ । सन् २०१७ मा माइती नेपाल काँकडभिट्टाले भारतका विभिन्न स्थानमा बेचिएका २८ जना महिलाको उद्धार गरेको थियो । सोही समयमा ३ सय १३ जना महिलालाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको जनाएको छ ।

गत वर्ष सन् २०१८ मा भारतका विभिन्न स्थानबाट २४ जना महिलाको उद्धार गरेको माइती नेपालले २ सय ५९ जनालाई पूर्वी नाकाबाट फर्काएको संयोजक घिमिरेले जानकारी दिए । काँकडभिट्टा नाका भई अवैध रुपमा विदेश जान खोज्नेहरुमा झापासहित मकवानपुर, सिन्धुपाल्चोकदेखि पूर्व ताप्लेजुङ, इलामसम्मका पहाडी भेगका १५ देखि ४० वर्ष उमेरका महिला बढी रहेको उनको भनाइ छ ।

अवैध रुपमा चेलीबेटी बेचिने क्रमको मूलसमस्या भने बेरोजगारी, घरेलुहिंसा, देखासेखी गर्ने बहानामा धेरै दलालको फन्दामा पर्ने गरेको पाइएको घिमिरेले जानकारी दिए । मानवबेचविखनमा महिलाहरु समेत सम्लग्न हुनुले चुनौति थपिएको सरोकारवालाको भनाई छ ।

महिलाले छिट्टै अरुलाई विश्वास गर्ने गरेका कारण पनि धेरै महिलाहरु दलालको फन्दामा पर्ने तथा नजिकका आफन्तहरुले समेत पैसाको लोभ देखाएर चेलीबेटिहरुलाई फसाउने काम गर्ने गरेको झापाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । कतिपय निर्दोष, बाध्यताका, गरिबी लगायतका कारणले गर्दा विदेश जाने गरेको डिएसपी श्रेष्ठको बुझाइ छ । रोक्ने काम सँगै जाने काम पनि भइरहेको श्रेष्ठले बताए ।

केही दिनअघि मानव वेचबिखनको जोखिममा परेर उद्धार गरिएका १ सय ७९ नेपालीलाई माइती नेपालले काठमाण्डौंमा अनुसन्धान गरिरहेको जनाइएको छ । माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरिएको थियो । उनीहरुलाइ झापाको काँकडभिट्टा नाका हुँदै काठमाण्डौ लगिएको छ । नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लगायत तेस्रो मुलक लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्याएका थिए ।
माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल फर्काएको घिमिरेले बताए । उद्धार गरिएकामध्ये १ सय ४७ महिला र ३२ पुरुष छन् । करिब २३–२४ जना झापाका महिलाहरु समेत रहेको जनाइएको छ । हाल पूर्नस्थापना केन्द्रमा राखेर दलालको पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।