प्रताप बानियाँ, म्याग्दी
हिमालपारिको जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको गडबढीका कारण मङ्गलबार रातीदेखि नै मुस्ताङमा भारी हिमपात भएको हो । अहिले पनि मुस्ताङमा हिमपात भैरहेको छ भने अत्यधिक मात्रामा चिसो हावा (सिरेटो) चलेकाले जनजीवन कष्टकर बनेको छ ।
मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले दिएको जानकारी अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेरलगायतका क्षेत्रमा २ फिटभन्दा माथि बाक्लो हिउँ जमेको छ । यसैगरी मुक्तिनाथ क्षेत्र आसपासमा डेढ फिट र सदरमुकाम जोमसोम बजारमा झण्डै आधा फिटसम्म हिउँ जमेको उहाँले जानकारी दिनुभयो । मुस्ताङ जिल्लाको सबैजसो ठाउँमा भारी हिमपात भैरहेको उहाँको भनाइ छ ।
–जनजीवन कष्टकर
मौमसमा आएको खराबी र हिमपातका कारण विगत ४ दिनदेखि जोमसोम विमानस्थलमा हवाईजहाज आउन नसकेको प्रनाउ खड्काले बताउनुभयो । उहाँका अनुसार जोमसोम विमानस्थलको धावनमार्गमा पनि बाक्लो हिउँ जमेको छ । हिमपातका कारण मुस्ताङमा सवारी आवतजावतमा समेत समस्या भैरहेको छ । मुस्ताङबाट छुटेका सवारीसाधन सडकमा बाक्लो हिउँ जमेका कारण मार्फाबाट जोमसोम नै फर्किएको उहाँले टेलिफोनमा बताउनुभयो । अधिकांश सवारीसाधन मार्फामै रोकिएका छन् ।
वर्षासँगै परेको भारी हिमपातका कारण म्याग्दीसँग सीमा जोडिएको मुस्ताङको घाँसा तथा लेतेसम्मै बाक्लो हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसभन्दा पहिले नै परेको हिउँ पग्लिन नपाउँदै पुनः परेको हिमपातका कारण मुस्ताङको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । हिमपात र वर्षाले अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरभित्रै आगो बालेर बस्न बाध्य भएका छन् ।











प्रतिक्रिया