गृृहमन्त्रीद्धारा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

0
Shares

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तेश्रो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को बुधबार समापन गर्नुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापाले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक भरत खनियालाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो ।

सोही अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश उप्रेतीलाई वेष्ट एकेडेमीक अवार्ड प्रदान गर्नुभयो ।

त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज अर्याललाई बेष्ट रिसर्च अवार्ड प्रदान गर्नुभयो ।

गृहमन्त्री थापाले सो अवसरमा उक्त कोर्ष पश्चात एपीएफ अधिकृतहरुको व्यावसायिक दक्षतामा अभिवृद्धि भई आत्मविश्वास बढ्नुकासाथै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामकना गर्न उक्त कोर्ष कोशेढुंगा सावित हुने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत सो कोर्ष उपयोगी रहने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले शैक्षिक ज्ञान र व्यावसायिक दक्षताले सफलता प्राप्तितर्फ लैजाने चर्चा गर्नुहँुदै अप्ठेरो अवस्थामा सहि निर्णय गर्न सक्षम अधिकृत निर्माणमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सहयोगीसिद्ध हुने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालयबाट प्राप्त भएको निर्देशन तथा त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुहुँदै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालयको सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताउनुभयो ।

गत साल असोज ४ गतेबाट संचालित १८ महिना अवधिको सो कोर्षमा १९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका थिए ।