तीन शव निकाल्न हेलिकप्टर दुर्घटनास्थल प्रस्थान

0
Shares

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तीनजनाको शव निकाल्नका लागि दुईओटा हेलिकप्टर अहिले त्यसतर्फ उडेको छ ।

सुकेटार विमानस्थलमा रहेको हेलिकप्टर त्यहाँको मौषममा सुधार आएपछि त्यसतर्फ प्रस्थान गरेको हो । घटनास्थलमा अझै तीनजनाको शव रहेको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बुधबार बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ४ जनाको शव दुर्घटनास्थलबाट निकालिएको थियो ।

बुधबार दुर्घटनास्थलमा वर्षा र हिमपात भएपछि शव निकाल्न कठिनाई आएको थियो । राती अबेरसम्म पनि दुर्घटनामा परेको सबैको शव निकाल्न नसकेपछि तीन जनाको शवलाई दुर्घटनास्थलमै छाडिएको थियो । दुर्घटनास्थल सडकमार्गबाट टाढा भएकोले पनि बुधबार शव निकाल्न असम्भव भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।

शवलाई रातभर ३० जनाले कुरेर बसेका थिए । राती पनि दुर्घटनास्थलमा हिउँ परेको थियो ।