कर्मचारी समायोजन लम्वेतान, अझै दुई हप्ता लाग्ने सरकारी अनुमान

0
Shares

सुनील महर्जन
काठमाडौं । संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ ।

यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि बिभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिनभित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

समायोजन रोजेका कर्मचारीको राष्ट्रिय किताबखानामा विवरण नमिलेकोले समायोजनमा ढिलाइ भएको थियो । तोकिएको समयमा समायोजन नसकिनुमा कर्मचारीको विवरण नै मुख्य कारण रहेको प्रवक्ता अधिकारीले दावी गर्नुभयो । ‘कसैको कार्यालय मिल्दैन, कसैको नियुक्ति मिति मिल्दैन। विवरण नमिलेकाले समायोजनमा ढिलाई भएको उहांले जानकारी दिनुभयो ।

मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुका अनुसार हालसम्म २२ हजार ९ सय १७ कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको छ ।

करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९ सय १७ कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिनुभयो । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।

मन्त्रालयका अनुसार हाल हाल ९० हजार १ सय १६ जनाको दरबन्दी छ । ती मध्ये न्याय, परराष्ट्र र महालेखाका करिब ४ हजार कर्मचारी समायोजनमा सहभागी हुनु पर्दैन । बांकी रहेका करिब ८६ हजार कर्मचारी मध्ये १३ हजार कर्मचारीले समायोजन फारम भरेका छैनन ।

यसले गर्दा संघीयता भनेपनि केन्द्रमै अत्यधिक कर्मचारी रहने अवस्था आएको मन्त्रालयका अधिकारीहरु बताउछन् । अधिकांश कर्मचारीको संघमै समायोजन भएको छ । काठमाडौंमा कलेज पढाउने, लोक सेवाको किताब लेख्ने र कक्षा लिने, विदेश धेरै सयर गर्ने कर्मचारीहरु प्रदेश र स्थानीय तहमा जान चाहेका छैनन ।

अर्कोतर्फ जिल्लास्तरमा रहेका जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय, मालपोत कार्यालय सबै संघमै रहेकोले पनि संघमा समायोजन हुने संख्या बढी देखिएको हो । स्वास्थ्य, इन्जिनियरिङ सेवाको समायोजन भइसकेपछि स्थानीय तहमा समायोजन हुनेको सख्या बढी हुने पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म समायोजन भएका कर्मचारीहरुमध्ये संघमा १७ हजार २ सय ७९, प्रदेशमा २ हजार ४ सय ४८ र स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन् । बांकी रहेका कर्मचारीको समायोजन दैनिक रुपमा हुने मन्त्रालयले जनाएको छ ।

सरकारले स्वीकृत गरेको दरबन्दी अनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी चाहिन्छ ।

यस अवस्थामा समायोजन कार्य पुरा भएपनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुनेछ । ‘प्रदेशस्तरीय लोकसेवा आयोग गठन गरेर नयां कर्मचारी भर्ना नलिएसम्म कर्मचारी अभाव रहने छ– प्रवक्ता अधिकारीले भन्नुभयो ।

मन्त्रालयले सचिव, सहसचिवको समायोजन गरिसकेको छ भने उपसचिव, शाखा अधिकृत र अन्य कर्मचारीको समायोजन गरिरहेको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन समायोजन अध्यादेश ल्याइएको थियो ।

त्यस ऐनको मनसाय विपरीत प्रक्रिया पु¥याएर घुमाईफिराई संघमै समायोजन हुन चाहेको मन्त्रालयका अधिकारीहरु बताउंछन् ।