विषाक्त मदिराबाट मर्नेको संख्यामा वृद्धि


गुवाहाटी,(एजेनसी)
थप अन्य ३५ भन्दा बढी चिया वगानका मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या आइतवार १ सय ३३ पुगेको छ सरकारी सुत्रले जनाएको छ । भारतको आसाम राज्यमा भएको यस दुर्घटनामा अशक्त भएका अन्य दुई सयजनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

मृत्यु हुनेक्रम गत बिहीबारदेखि सुरु भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार बिारमी मध्ये धेरैको स्वास्थ स्थिती चिन्ताजनक रहेकाले मृत्यु हुनेको सँख्या अझ बढ्न सक्छ । आसाम राज्यका प्रहरीका अतिरिक्त महानिर्देशक मुकेश अग्रवालले आइतबार पत्रकार समक्ष गोलघाट र जोरहाटमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १ सय ३३ पुष्टि गरेका छन् ।

उनले यस घटनामा दोषी रहेकोे आशंकामा दश जनालाई गिरफ्तार गरिएको र पीडितहरुले सेवन गरेको मदिराको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको पनि जानकारी दिएका छन् । साथै यस्तो बिषाक्त मदिरा बिक्रीवितरण रोक्न असफल रहेको अरोपमा दुईजना प्रहरी अधिकारीलाई निलम्बन गरिएको जनाइएको छ ।

दुई साता अघिमात्र भारतका अन्य दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सयजना मानिसको मृत्यु भएको थियो । भारतमा वारम्वार यस्तो मदिरा सेवनको कारण थुप्रैको अकालमा ज्यान जाने गरेको छ ।