उत्तर कोरियामा खाद्यान्न संकट


न्युयोर्क (एजेन्जी)
उत्तर कोरियाले यस बर्ष खाद्यान्न उत्पादनमा भारी गिरावट आउने अनुमानपछि खाद्यान्नको कमीका कारण आउने संकट हटाउन संयक्त राष्ट्र सहायता एजेन्सीहरुसँग मद्दत मागेको संयुक्त राष्ट्रका एक प्रवक्ताले जानकारी दिएको छ । प्योङयाङले संयुक्त राष्ट्रलाई चामल, गहुँ, आलु, र भटमासको वाली लगायत यस बर्षको खाद्यान्न उत्पादनमा उसले १४ करोड टन अनाजको कमी हुने स्थितिको सामना गर्नु पर्ने बताएका थिए ।

संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन डुजारिकले भने– सरकारले देशका रहेका अन्तराष्ट्रिय मानविय संगठनसँग खाद्य सुरक्षाको संकट हटाउन सहायताका लागि अुनरोध गरेको हो ।

संयुक्त राष्ट्रका एजेन्सीहरुले मानविय आवश्यकता पुरा गर्न प्रारम्भिक कारवाहीका लागि प्योङयोङसँग वार्ता गरिरहेको उनले बताए । संयुक्त राष्ट्रको आंकडा अनुसार करिब १ करोड ५० लाख उत्तर कोरियाली अर्थात ४१ प्रतिशत आवादीलाई खाद्यान्न सहायता आवश्यक हुने छ ।