भारतको जयपुर जेलमा पाकिस्तानी कैदीको हत्या


 

इस्लामाबाद (एजेन्सी)
पाकिस्तानले राजस्थानको राजधानी जयपुरमा भारतिय कैदीहरुद्वारा एक पाकिस्तानी कैदीको हत्या भएको विषयमा चिन्ता ब्यक्त गर्दै भारतसँग त्यसको जवाफ मागेको छ । ५० बर्षका पाकिस्तानी नागरिकको नाम शकरुल्ला भएको जयपुर प्रहरीले पहिचान गरेको छ ।

उनी जयपुरको केन्द्रिय कारगारमा बन्द थिए । बुधबार कैदीहरुबीचको झगडाका क्रममा उनको मृत्यु भएको थियो । उनको सम्बन्ध कट्टरपन्थी समुह लश्कर ए तायबासँग रहेका बताइएको छ । कैदीहरुबीचको झगडा टेलिभिजनको आवाजलाई लिएर भएको थियो । पाकिस्तानको सियालकोटमा बस्ने ती कैदीलाई ढुंगाले हानेर हत्या गरिएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले पुलवामा घटनाको प्रतिक्रियामा भारतिय कैदीहरुले शकरुल्लालाई कुटपित गरि मारेको जनाएको छ । उक्त घटनालाई लिएर पाकिस्तान चिन्तित रहेका जनाएको छ ।

नयाँ दिल्ली स्थित पाकिस्तानी उच्चायोगले भारतिय अधिकारी समक्ष उक्त घटनाका बारेमा सत्यतथ्य जानकारी गराउन आग्रह गरेको विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानले भारत सरकारसँग भारतिय जेलमा बन्द पाकिस्तानी र भारत यात्रा गर्नेहरुको सुरक्षा सुनिश्चित गर्न भनेको छ ।

यसैबीच राजस्थानका प्रहरी महानिर्देश कपिल गर्गले न्यायिक मेजिस्ट्र्ेट र प्रहरीले यस मामिलामा अलग अलग जाँच गर्ने जानकारी दिएका छन् । शकरुल्ला सन् २०११ देखि जेलको विषेश शेलमा बन्द थिए र उ गैर कानुनी गतिविधि अधिनियम अन्तर्गत आजिवन कारावासको सजायँ काटिरहेका थिए ।

यसअघि उनी र अन्य सात जनालाई पन्जावको एक जेलमा राखिएको थियो । उनीमाथि युवाहरुलाई कट्टर बनाएको आरोप थियो । सन् २०१७ मा लश्कर ए तैयबाका सदस्यलाई आजिवन कारावासको सजायँ सुनाइएको थियो ।