सरकारले चलखेल गरे व्यवसायी पनि चुप लागेर बस्दैनन्ः उपाध्यक्ष सेढाई

0
Shares

काठमाडौँ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघकी उपाध्यक्ष रुक्मिणी सेढाइले सरकारले व्यवसायीको पक्षमा नबोले व्यवसायीहरु प्नि चुपचाप लागेर नबस्ने बताएकी छिन् ।

सरकारले ल्याएका नारा र गरिएका घोषणा स्वभाविक भएपनि व्यवहारमा भने निरंकुश भएको उनले बताइन् । ‘भाषणमा सधैं मीठा कुरा हुन्छन् राम्रो नारा लगाइन्छ तर त्यस्तो व्यवहार पाइएन’ उनले भनिन् ‘ व्यवासायीलाई परेको पीरमार्का कहिल्यै पनि सुनिएन, सधैं प्रयोग गर्ने काममात्र भयो अब चुपचाप सहेर बस्दैनौं ।’ व्यापार व्यवसायमा समस्या आएको बताउँदै उनले सरकार र अन्य निकायले व्यवसायी र यस क्षेत्रलाई वेवास्ता गरेको आरोप लगाइन् । सरकारले व्यवसायीको पक्षमा नबोलेको र एकहोरो रुपमा व्यवसायीले मात्र सरकारलाई सहयोग गरेको उनको भनाई छ ।

उनले बैंकको व्याज बढेको, व्यवासायिक सुरक्षा नभएको, भन्सार सहज नभएकोलगायतका गुनासो गरेकी छिन् । सामूहिक उद्येश्य लिएर गतवर्ष २४ वटा व्यवसायीको संस्था मिलेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ गठन भएको थियो । योसहित अन्य व्यवसायिक संघ संस्थामा पनि आवद्ध उनले सरकारसँग व्यवसाय गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेकी छिन् ।

महिलाको नेतृत्व सफल हुने भएकाले त्यो वातावरणको खाँचो भएको बताएकी छिन् । ‘महिलाले नेतृत्व गरेका कुनै पनि संस्था कमजोर छैनन् तर यो र त्यो बहाना देखाएर काम गर्ने सोच जाँगरमाथि प्रहार गरिन्छ’ उनले भनिन् ‘नेतृत्व पाए जस्तोसुकै काम पनि गर्न सक्छन् तर जिम्मेवारीको खाँचो छ ।’ २०४७ सालमा बनेको संविधानले महिलालाई राजनीतिक सहित अन्य अधिकार दिएको थियो । उनले व्यवसायीले अहिलेको जस्तो असहज परिस्थिति कहिल्यै भोग्नु नपरेको पनि बताएकी छिन् ।

महासंघको पहिलो साधारणसभा शनिबार हुँदैछ । पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपाल प्रमुख आतिथ्यता र पूर्व अर्थमन्त्री डा। रामशरण महतलगायतका नेता विशिष्ठ अतिथि रहने साधारणसभामा व्यवसायीले आफ्ना गुनासा प्रष्ट रुपमा राख्ने बताइएको छ । ‘राजनीतिक नेतृत्वले नै नीति नियम बनाउने हो सँगै बसेर समस्या सुनाएपछि सम्बोधन होला भन्ने हो ’ उनले भनिन् ‘ सरकारलाई राम्रो होस् र जनताले पनि न्याया पाउन् भनेर अहिलेसम्म पीडा सहेर भएपनि दुःखले व्यवसाय गरेका छौं ।’

उनले अधिकारको लागि कडा संघर्ष गर्नेसमेत बताएकी छिन् । २२ वर्षअघिबाट व्यवसायमा संलग्न उनले व्यवसायीको लागि सामाजिक योगदान गर्दै हक अधिकार स्थापनाको लागि पनि बोल्दै आएको बताएकी छिन् ।