बेइजिङ ।
रणनीतिक महत्व राख्ने विश्वका तीन प्रभावशाली देश चीन, रुस र भारतका विदेश मन्त्रीहरुको बैठक चीनमा हुने भएको छ ।
यही फेब्रुअरी २७ तारिखका दिन तीन देशका विदेश मन्त्रीहरुको १६औँ बैठक गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक हुने तय भएकै दिन तीन देशका विदेश मन्त्रीहरुको बैठक हुन लागेको हो ।
अमेरिका र उत्तर कोरियाका शीर्ष नेताहरुको बहुप्रतिक्षीत दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोइमा हुने तय भइसकेको छ ।
तीन देशका विदेश मन्त्रीहरुको बैठक चीनको छज्याङ प्रदेशको वुछेनमा आयोजना गर्ने निर्णय भएको चीन सरकारका एक जना प्रवक्ताले जानकारी दिएका छन् ।
चीनका विदेश मन्त्री वाङ यीले बैठकको अध्यक्षता गर्नुहुने भएको छ । बैठकमा रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभ र भारतका विदेश मन्त्री सुष्मा स्वराजले सहभागीता जनाउने निश्चित भइसकेको अधिकारीहरुले बताएका छन् ।
रासस
प्रतिक्रिया