असिना पानीले बालीनाली सखाप

0
Shares

इलाम ।
शनिबार दिउँसो बर्षासंगै परेको असिनाले इलामका बिभिन्न गाउँका किसानले लगाएको बालीनाली सखाप बनाएको छ । हावाहुरी संगै आएको आसिना पानीले किसानले लगाएको आलु, काउली लगायतका तरकारी बाली सहित अलैंची खेतीमा पनि असर पुर्याएको छ ।

महँगो मुल्यमा आलुको विउ किनेर रोपेका किसानले फल्न नपाई असिना पानीले क्षती पुरयाएपछि कृषकहरु चिन्तित बनेका छन् । केही दिन अगाडि परेको पानीले किसानलाई राहत मिलेपनि शनिबार परेको असिना पानीले भने आलु सहित अन्य तरकारी बालि सखाप बनाएको माईजोगमाई गाउँपालिका स्थित प्याङका कृषक आइन्द्र थेबेले बताए ।

यीनै बालीहरु उत्पादन गरी बिक्रि गरेर आएको रकमले घरखर्च टार्ने सोच बनाएका कृषकको सपना असिना पानीले तुहाइदिएको छ । आलुखेतीबाट लाखौं रुपैंयाँ भित्राउने माईजोगमाई तथा सन्दकपुर गाउँपालिकाका बिभिन्न वडाका किसानले यसबर्ष आलुखेतीले घाटा लगाउने निश्चित भएको बताउँछन् । यस क्षेत्रको आलु बढि मात्रामा भारतीय बजारमा निर्यात हुँदै आएको छ ।

जिल्लाकै अर्को प्रमुख नगदे बालीको रुपमा रहेको अलैंची खेतीमा पनि असिना पानीले क्षती पुुरयाएको छ । अलैंचीको फुल फुल्ने समय भएकोले असिनाले त्यसलाई असर पुरयाएको कृषकहरुले बताए ।