संस्थाका कार्यक्रमले युवालाई समेट्नुपर्नेमा जोड

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
महिला बालबालिका र किशोरीहरुलाई लक्षित गर्दै संघसंस्थाहरुले गाउँ नगरमा कार्यक्रम संचालन गरिरहेका बेला किशोरहरुलाई पनि आफ्ना कार्यक्रममा समेट्न सरोकारवालाहरुले सुझाव दिएका छन् । बेचविखन तथा व्यवसायिक यौन शोषणको उच्च जोखिममा रहेका बालबालिका तथा यूवाहरुको सम्बोधन तथा रोकथाम परियोजनाले सोमबार बलेफी गाउँपालिकामा आयोजना गरेको प्रगति समिक्षा तथा छलफल कार्यक्रममा सहभागिहरुले किशोरहरुलाई आफ्ना कार्यक्रममा समेट्न सुझाए । ‘संस्थाका कार्यक्रमले महिला र किशोरीहरुलाई मात्र हैन किशोरहरुलाई पनि समेट्नुपर्दछ’, कार्यक्रममा सहभागि शिक्षक राजकुमार ढुंगानाले भने ।

महिला र किशोरी लक्षित विभिन्न कार्यक्रमहरु संचालनमा आइरहँदा किशोरहरुका लागि ती कार्यक्रमहरुले समेट्न नसकेको सरस्वती माध्यमिक विद्यालयका ज्ञानेन्द्रकुमार नेपालले बताए । किशोरहरुलाई पनि अभिमुखिकरण र प्रशिक्षणका कार्यक्रम संचालन गरिएमा बेचिविखन, यौन हिंशा तथा शोषणको जोखिम घट्ने उनले बताए । ‘किशोरहरुका लागि चेतनामुलक कार्यक्रम संचालन भएमा यौन शोषणको जोखिम घट्नेछ’, उनले भने, ‘संस्थाका यस्ता कार्यक्रमहरुले किशोहरुलाई समेट्न सके राम्रो हुनेथियो ।’

यौन शोषणको जोखिम न्युनिकरणका लागि बजारकेन्द्रित नभई गाउँपालिकाभित्रका विकट बस्तिहरुमा कार्यक्रम संचालन गर्नुपर्नेमा बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले जोड दिए ।‘अब संघसंस्थाका कार्यक्रम र परियोजना ग्रामीण बस्तिमा केन्द्रित हुनुपर्दछ’, उनले भने, ‘बेचविखन र यौन शोषणको जोखिम विकट भुगोलका बस्तिमा धेरै छ ।’

एण्टीस्लेभरी इन्टरनेशनलको सहयोगमा सिविस नेपालद्धारा बलेफी गाउँपालिकामा संचालित यस परियोजना विकट बस्तिहरुमा संचालन गरिने सिविसका जिल्ला कार्यक्रम संयोजक नवराज सापकोटाले बताए ।