उपचारमा सबै सम्पति सकिएपछि बृद्ध दम्पतीको मन्दिरमा बास

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।

उपचारका नाममा भएको सबै सम्पति सकिएपछि पर्वतको फलेबास नगरपालिकाका बृद्ध दम्पती मन्दिरमा बास बस्न थालेका छन ।

फलेवास–११ पाङराङका पदमबहादुर कँडेलको दम्पती उपचारका क्रममा सम्पनित सकिएपछि बर्ष दिन देखि कालीगण्डकी किनारको मन्दिरमा बास बस्न थालेका हुन ।

गाउँको एउटा घर र सात रोपनी खेत बेचेर आएको १२ लाख रुपैयाँ उपचारमा सकिएपछि वर्ष दिनदेखि फलेवास–४ मुडिकुवास्थित कालीगण्डकी किनारको मन्दिरको पेटीमा बस्दैआएका छन । सहयोगीले दिएको अन्न र मन्दिरमा आउनेले दिएको दुईरचार पैसाले पदमबहादुर र उनकी श्रीमती भीमाकुमारीले दैनिक रुपमा गर्जो टार्दै आएका छन । कँडेल पिसाव नली (प्रोस्टेट क्यान्सर) बाट पीडित छन्। उनलाई रोगले च्यापेको चार वर्ष भयो ।

गत वर्षको पुसदेखि कँडेल दम्पती मन्दिरमा बस्दै आएका हुन् । उनका चार छोरा छन् । छोराहरूको पनि आर्थिक हैसियत कमजोर छ । कान्छा छोरा मोहनबहादुर कँडेलले दुबईमा मजदुरी गरेर आएको पैसा बाबुको औषधिमा खर्च हुँदै आएको छ । अहिले मासिक १० हजारको औषधि मात्रै आवश्यक पर्छ ।

जेठा छोरा सोमबहादुर गाउँमै मजदुरी गरेर परिवार पाल्दै आएका छन्। माइला छोरा भारतमा छन्। गत वर्ष घरमै भएको आगलागीमा परेका साइँला छोराको अझै उपचार हुँदैछ । गम्भीर घाइते उनको अझै एक वर्ष उपचार गर्नुपर्ने पदमबहादुरले बताए ।

२०७१ सालबाट कँडेलले उपचार सुरु गरे पनि रोग झनै बल्झिँदै गएको उनले बताए । ०७१ मंसिरदेखि पिसावमा रगत देखिन थालेपछि उनी सोही वर्ष पुस १४ मा पोखराको मणिपाल शिक्षण अस्पतालमा पुगेका थिए । ‘त्यहाँ चार महिनासम्म उपचार गरेपछि रगत बग्ने समस्या कम भयो । त्यसपछि घर फर्किएँ,’ उनले भने, ‘घर फिरेको केही महिनामै रोगले झनै च्याप्यो । फेरि अस्पताल पुगें । अस्पतालमै सर्वस्व सकियो ।’ पोखरामा १० लाख खर्च भएको उनले बताए ।

पोखराबाट फर्किएको एक महिना नहुँदै फेरि पिसावमा रगत देखिन थाल्यो । परिवार र छिमेकीको सल्लाहपछि घरखेत बेचेर गत जेठमा चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि पुगें ।

१० लाख रुपैयाँ एक महिनामै सकियो । ‘पैसा सकिएपछि अस्पतालले फर्काइदियो । हामी जाने ठाउँ नै नभेटेपछि मन्दिरमा बस्न थाल्यौं,’ श्रीमती भीमकुमारीले भनिन् ‘डाक्टरले २२ लाख भए उपचार सम्भव हुन्छ भन्थे २० रुपैयाँ नहुनेले कहाँबाट त्यत्रो पैसा पुग्छ र  ?’ अब मृत्यु कुर्नुको विकल्प आफूसँग नभएको उनले सुनाए ।