बाढीपीडितलाई नेपाल रेडक्रसको सहयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
हरेक विपद् आफैमा दुखद् घटना हो, तर त्यसको प्रतिकार्य आफैमा एउटा खुला प्रयोगशाला बन्न जान्छ र देश र संस्थाले केही सिकिरहेको पनि हुन्छ।
सन् २०१७ को अगस्टमा नेपालको मध्य र पूर्वी तराईमा गएको बाढीपश्चात रेडक्रसबाट बाढीपीडितलाई सञ्चालन गरिएको उद्धारको समीक्षा गरिएको थियो।

नेपाल रेडक्रस राष्ट्रिय विपद् तथा संकट समितिका सभापति मनोज थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बाढी प्रतिकार्य कार्यक्रम सञ्चालन भएका जिल्ला शाखाहरूका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्ट्रिय समिति तथा अन्तर्राष्ट्रिय महासंघलगायत साझेदार राष्ट्रिय सोसाइटी र डीएफआईडीका प्रतिनिधि तथा नेपाल रेडक्रसको नेतृत्व र कार्यक्रम कार्यान्वयनमा संलग्न टोलीको सहभागिता रहेको थियो।

सो बाढीबाट १ सय ४९ जनाको ज्यान गएको थियो भने १७ लाख मानिस प्रभावित भएका र ६४ हजार ९ सय घर भत्केका थिए। विपद् व्यवस्थापन विभागका उपनिर्देशक रुद्र अधिकारीले पहिलो चरणमा प्रभावित ३१ वटै जिल्लामा तत्काल उद्धार राहतमा रेडक्रसले सहयोग गरेको जानकारी गराउँदै भन्नुभयो– ‘१३ हजार ५ सय १९ परिवारलाई गैरखाद्य सामग्री सेट वितरण गरिएको थियो। त्यत्तिकै संख्यामा सरसफाइ सामग्री, ७ हजार ८४ परिवारलाई आपत्कालीन आवास, ८ हजार ६ सय परिवारलाई खाद्यान्न र ३ हजार ३ सय परिवारलाई झुल वितरण गरिएको थियो।’

दोस्रो चरणको सहयोगअन्तर्गत सुनसरी, सप्तरी, सिरहा, उदयपुर, महोत्तरी, रौतहट, बर्दिया र झापामा २ वर्षे सहयोग कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रम प्रभावकारी रहेको सूचकले देखाएको आईएफआरसीका नेपाल कार्यालय प्रमुख जुजा किमले बताउनुभयो।

बाढीपीडितलाई गरिएको उद्धारअन्तर्गत १ हजार ६ सय ४० परिवारलाई जीविकोपार्जनका लागि नगद सहयोग गरिएको, ५० परिवारलाई घरको लागि जस्तापाता सहयोगका साथै सुरक्षित घर बनाउन ५ हजार परिवारलाई तालिम दिइएको थियो। त्यस्तै समुदायमा आधारित स्वास्थ्य सहयोग ४२ हजार ९ सय ७८ जनालाई गरिएको र ११ हजार ७ सय ६८ परिवारलाई झुल वितरणलगायतको सहयोग गरिएको थियो। १२ सय ५६ परिवारको घरमा चर्पी निर्माण गरियो भने ५५ वटा सुधारिएको ट्युबबेल जडान गरिएको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो।

नेरेसोका महामन्त्री देवरत्न धाख्वाले पहाडी र हिमाली जिल्लामा गएको भूकम्प र तराईमा गएको बाढीको समयमा काम गर्दा संस्थाले धेरै अनुभव हासिल गरेको र सिकाइलाई संस्थागत गर्दै निर्णय प्रक्रिया, व्यवस्थापन, समन्वयजस्ता विषयमा थप सुधार गरिँदै जाने बताउनुभयो।

कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले भन्नुभयोे– ‘नेपाल रेडक्रसले भूकम्प प्रतिकार्यबाट सिकेको अनुभव समेतबाट सिकेर तत्काल बाढीग्रस्त प्रभावित क्षेत्रमा गई स्थानीय परिवेशमा समयमै सहयोग गर्न सफल भएका थियौं।’