प्राकृतिक बासस्थानमा छाडियो २४ गोही

0
Shares

कृष्ण आचार्य, चितवन
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा संरक्षण गरिएका दुई दर्जन गोही राप्ती नदीमा छाडिएको छ। प्रत्यक वर्ष जस्तै यस वर्ष पनि निकुञ्ज मुख्यालयको कसरा नजिकै २ भोलेसहित २४ वटा गोही छाडिएको हो। निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा रहेका घडियाललाई ५ वर्ष उमेर पुगेपछि नारायणी, राप्ती तथा बबई नदीमा छाड्ने गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच गोहीहरूलाई भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले संयुक्तरूपमा गोही राप्तीमा छाडे।

गोही संरक्षणका लागि विसं २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अन्डा संकलन गरि वार्षिक २ सय बच्चा उत्पादन गर्ने गरेको छ। जसमध्ये १ सय ५० गोहीलाई बचाउन सकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिए। उनले संरक्षण विना पर्यटन सम्भव नभएकाले अति दुर्लभ गोहीको संरक्षणका लागि जनप्रतिनिधिहरू सकरात्मक हुनुपर्ने बताए। ‘नदीमा लाइभ इको सिस्टम कायम गर्न घडियाल गोही संरक्षण गर्नुपर्छ’, उनले भने– ‘गोहीलाई लोप हुन नदिन नदिमा माछाको आहार लेउ पलाउन दिनुपर्छ।’ नदीजन्य पदार्थको उत्खननमा प्रतिबन्ध लगाएर नदीलाई सफा राखे गोहीलाई बचाउन सकिने उनको तर्क छ। निकुञ्जले छाडिएका २४ घडियालाई नियमित अनुगमन र रेखदेख जीपीएस प्रणालीबाट गर्नेछ।

सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले गोही संरक्षण कार्यका लागि महानगर सधैं सहयोगी बन्ने प्रतिबद्धता जनाइन्। गोही संरक्षणका लागि जनता जागरुक हुनुपर्ने, स्थानीय संघ–संस्था सजक बन्नुपर्ने र स्थानीय सरकारहरू सहयोगी बन्नुपर्ने उनले बताइन्। नदी आसपास जोडिएका वडाध्यक्षहरूलाई विकासका काम गर्दा संरक्षणलाई प्राथमिकतामा राख्न दाहालले निर्देशन दिइन्।

सो अवसरमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो, वडा नम्बर २३ का वडाध्यक्ष नरिनारायण पौडेल, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायण अधिकारीलगायतले पछिल्लो समय नदीमा प्रदूषण बढ्दा गोहीलगायतका जलचरको स्थिति संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

हालसम्म नेपालका विभिन्न नदीमा गरी १३ सय ६५ गोही प्राकृतिक बासस्थानमा छाडिएको छ भने यो वर्ष पनि करिब १ सय गोही नदीमा छाड्ने चितवन राष्ट्रिय निकुञ्जको तयारी छ। २०१६ को गोही गणनाअनुसार १ सय ९८ वटा मात्रै घडियाल गोही नदीहरूमा जीवित छन्। घडियाल गोही सन् १९५० ताका नेपाल, भारत, वर्मा, भुटान, पाकिस्तान, बंगलादेशमा पाइन्थ्यो। अहिले नेपाल र भारतमा मात्रै सीमिति भइसकेको छ।
प्राकृतिक बासस्थानमा छाडिएकामध्ये पाँच प्रतिशत मात्रै बाँच्ने, नदीहरू प्रदूषण हुने, मानवको नदीमा अतिक्रमण बढ्नेलगायतका कारणले गर्दा गोही संकटमा रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले बताए।