फोहोर व्यवस्थापनमा प्रविधि परीक्षण गर्दै महानगर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नगरमा उत्पादन भएको फोहोर व्यवस्थापनमा प्रविधिको उपयोग गरेर सम्भावित समस्या समाधानको प्रयासमा लागेको बताउँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले दिगो उपयोग गर्न सकिने खालको प्रविधि परीक्षण गर्न लागेको जानकारी दिनुभएको छ।

शुक्रबार कार्यकक्षमा इरमा इन्टरनेसनलका तर्फबाट प्रस्ताव गरिएको ‘बेस्ट टु वेल्थ’ ९फोहोरलाई नबाली, धूवाँ ननिकाली खरानी बनाउने० प्रविधिका विषयमा बुझिसकेपछि मेयर शाक्यले यस्तो प्रतिक्रिया दिनुभएको हो।

‘काठमाडौैंको फोहोर व्यवस्थापनका लागि संघ सरकारकातर्फबाट लगानी बोर्डले पनि काम गरिरहेको छ। जसले काम गरे पनि फोहोरका कारण शहरमा समस्या सिर्जना नहोस् भन्ने नै हो’, मेयर शाक्यले थप्नुभयो– ‘सरकार र साझेदार सबैसँग छलफल गरेर उपयुक्त प्रविधि परीक्षण गर्नेछौं।’
यसरी गरिएको प्रविधिबाट प्राप्त परिणामका आधारमा फोहोर व्यवस्थापन अभ्यासले नयाँ बाटो लिन सक्नेछ, उहाँको आशा छ।

मेयर शाक्यलाई भेट्न जापानका वरिष्ठ आविष्कारक ८२ वर्षीय यामाजी मासामुरा र इरमा इन्टरनेसनलका निर्देशक प्रभाकर शाहसहितको टोली आएको थियो। ‘बेस्ट टु वेल्थ’ मासामुराको सन् २००२ को आविष्कार हो। ३६० डिग्रीको क्यामरा, स्टेडियममा राखिने एलईडी बोर्ड प्रविधि उहाँकै आविष्कार हुन्।
इरमाका निर्देशक शाहका अनुसार ‘बेस्ट टु वेल्थ’ जापानका ३१ वटा स्थानमा जडान गरिएका छन्। यसमा फरक–फरक क्षमता छन्। कम क्षमतामा प्रतिघन्टा १ मेट्रिक टन र बढी क्षमतामा ४ मेट्रिक टन प्रतिघन्टा फोहोर व्यवस्थापन हुन सक्छ। मेसिनमा दुई वटा ढोका हुन्छन्। एउटा ढोकाबाट फोहोर राखिन्छ भने अर्को ढोकाभित्र रहेको बर्नरमा आगो सल्काइन्छ। आगो फोहोर बाल्नका लागि सल्काइने भने होइन, यो सल्किएपछि सिएलजि ग्याँस उत्पादन हुन थाल्छ।

त्यसबाट उत्पन्न तापले भोल्कानो प्रणाली अवस्था सिर्जना गर्छ। यसको तलपट्टि ३ सय डिग्री, बीचमा ५ सय डिग्री र माथिल्लो भागका ८ सय डिग्री ताप हुन्छ।

यही तापले फोहोरलाई खरानी बनाउँछ। प्रणालीका विषयमा जानकारी दिँदै शाहले भन्नुभयो– ‘फोहोरमा आएको सिसा तल्लो भागमा जम्मा हुन्छ भने फलामलाई मेसिनभित्रको चुम्बकीय शक्तिले एकै ठाउँमा भेला पार्छ। यसको चिम्नीबाट तातो हावा निस्कन्छ। यो हावाबाट बिजुली निकाल्न सकिने कुराको अहिले परीक्षण भइरहेको छ।’

मेयरसँग आफ्नो प्रविधिका विषयमा जानकारी गराउने क्रममा आविष्कारक मासामुराले भन्नुभयो– ‘नेपालको अवस्थाअनुसार फोहोर व्यवस्थापन गर्न यो प्रविधि उपयुक्त छ। मलाई नेपालमै बस्न मन छ। यसको परीक्षणबाट यहाँलाई चित्त बुझ्यो भने आवश्यकताअनुसार परिमार्जन पनि गर्न सकिन्छ।’ भेटका अवसरमा प्रवक्ता ईश्वरमा डंगोल, वातावरण व्यवस्थापन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारी सहभागी हुनुहुन्थ्यो।