शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधान गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

0
Shares

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र शिक्षकको समस्या समाधान गर्न वर्तमान सरकार र आफ्नो पार्टीले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

माध्यमिक शिक्षक विद्यालय शिक्षक युनियन नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले सङ्घीय संसद्मा सङ्घीय शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेकाले सोही विधेयकमार्फत धेरैजसो समस्या समाधान हुने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “एकाध दिनमा नै सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश हुँदैछ, मलाई विश्वास छ, सो विधेयकले शिक्षकका धेरै माग सम्बोधन गर्नेछ ।”

वर्तमान सरकारले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा थाती रहेका सबै समस्यालाई हल गर्दै समाजवादी प्रणालीमा लैजान क्रियाशील रहेको बताउनुभयो । शिक्षालाई जीवन उपयोगी बनाउनेतर्फ आफूहरु अगाडि बढिरहेको भन्दै उहाँले शिक्षालाई नीतिगत सुधार गर्दै व्यावसायिक र प्राविधिक बनाउने प्रतिबद्धता व्यक्त गरिएको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई मौलिक हकमा राखेर कानूनी व्यवस्थासमेत गरिएको भन्दै उहाँले शिक्षा क्षेत्रमा सुधार नगरी नहुने अवस्था आएको समेत स्पष्ट पार्नुभयो ।

नेपालको राजनीतिमा प्रायजसो नेता शिक्षक समुदायबाट आएकाले यस क्षेत्रको समस्याप्रति धेरै राजनीतिक नेतृत्व जानकार रहेको भन्दै उहाँले आफू पनि शिक्षकबाटै राजनीतिमा आएकाले धेरै समस्याको जानकार रहेको बताउनुभयो । सामुदायिक उच्च माविमा निरन्तर अध्यापन गरेका शिक्षकको माग सम्बोधन गर्दै विद्यालयमा प्राप्त अभिलेखका आधारमा सेवासुविधाको व्यवस्था गर्न विशेष पहल गरिने उल्लेख गर्नुभयो । विगतमा उच्च माविमा अध्ययन गराउँदै आएका ६ हजार शिक्षकको दरबन्दी कायम गरी उनीहरुलाई एक पटक आन्तरिक रुपमा प्रतिस्पर्धाको व्यवस्था गराउन पहल गर्ने अध्यक्ष दाहालले वचन दिनुभयो ।

लामो समयदेखि उच्च माविमा अध्यपन गर्दै आएका शिक्षकलाई उमेरको हद नलाग्ने विषयमा सरकार र शिक्षा मन्त्रालयसमेत सकारात्मक तवरले अगाडि बढेको भन्दै आफूले पनि सकेको पहल गर्ने जानकारी गराउनुभयो । भेला शनिबारसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा पूर्वशिक्षामन्त्री धनीराम शर्मा र शिक्षक प्रतिनिधिले शिक्षकका समस्या समाधानका लागि वर्तमान सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस