अनधिकृत रुपमा ५ महिनादेखी मोटरसाइलक प्रहरी नियन्त्रणमा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
बिगत पाँच महिना देखी प्रहरीले अनधिकृत रुपमा नागरिकका दुईथान मोटरसाइकिल आफनो नियन्त्रणमा राखेको छ ।

भदौ २२ गते बीरगन्जको बसपार्कमा प्रहरीले ९ सय ६६ ग्राम ब्राउन सुगरसहित मोटरसाइकल नियन्त्रणमा लिएको दावी गरेको थियो । बीरगन्ज बसपार्कका प्रहरी नायव उपरिक्षक बैद्यनाथ दासको दावी अहिले पनि यस्तै रहेको छ । तर प्रहरीले ति दुवै मोटरसाइकलका बारेमा कहि कतै केही उल्लेख गरेको पाइदैन ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ का जयराम कुमारको नाममा दर्ता रहेको ना २९ प ७३४८ नम्बरको मोटरसाइकल मार्फत उनी आफै शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जादै थिए । बीरगंजको बसपार्कमा मोटरसाइकल रोकी एक छेउमा मकै खाइरहेको अवस्थामा सादा पोशाकका मान्छेहरुले आफनो खल्ती जोरजवरजस्ती छाम्न खोज्दा प्रतिवाद गरेको र त्यसकै रिसमा उनलाई ब्राउन सुगर हालेर फसाइएको रामका पिता बिहारी रामको दावी छ । रामलाई नियन्त्रणमा लिएर प्रहरीले गाडीमा तीन घण्टा घुमाएपछि होटेलमा लगेर जोरजुलुम गरि मुचुल्का बनाएको उनले दावी लिएका छन् ।

प्रहरीले राम र उनका साथी बालकिशोर दास थारुलाई होटेलको कोठाबाट सामेतको दावी लिएर अदालतमा मुद्धा गरेको देखिन्छ । प्रहरीले ब्राउन सुगर सहित नियन्त्रणमा लिएको मोटरसाइकललाई दशी प्रमाणका रुपमा पेश गरेको पनि छैन ।प्रहरीले दासले चढेको बा ५२ प २५०४ को प्यासन प्रो मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीका आधिकारीक दस्तावेजमा समेत मोटरसाइकलका बारेमा केही उल्लेख भएको पाइदैन । प्रहरीले मोटरसाइलक बरामद नभएको जिकीर लिएको छ । तर रामको नाममा रहेको मोटरसाइकल करिव साढे पाँच महिना देखी बीरगंज बसपार्कको प्रहरी कार्यालयमा रहेको छ । नागरिकको धनको रक्षा गर्ने प्रहरीले अनधिकृत रुपमा मोटरसाइकल कब्जामा लिएको बिषयमा गृहमंत्रालयले समेत चासो लिएको छ । मंत्रालयले यो बिषयमा अनुसन्धान गर्ने जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा हुनु त्यसलाई दशीको रुपमा प्रस्तुत नगर्नु र घटना स्थल होटललाई देखाइएको कुराले प्रहरीको कार्यसम्पादनमा प्रश्न उठाउन थालिएको छ ।

रामका पिता बिहारी रामले कार्यालयले लिखित रुपमा मोटरसाइकल आफूलाई बुझाउनु पर्ने शर्त राखेपछि प्रहरीले त्यसो गर्न मानेको छैन ।

उनले पर्साका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत मोटरसाइकल उपलब्ध गराउन माँग गरेपनि जिल्ला प्रशासन कार्यालय पर्साले त्यसो गर्न नमिल्ने भन्दै फर्काइदिएको उनले बताए । प्रहरीले भने कोही दावी गर्न नआएकोले मोटरसाइकल राखिएको तर्क गरेको छ ।