स्वाभिमान यात्राको तयारीमा मकवानपुर

0
Shares

हेटौंडा,(नेस) ।
राप्रपाको आयोजनामा फागुन १५ देखि ३० गतेसम्म हुने मेची–महाकाली स्वाभिमान यात्राको तयारीलाई मकवानपुरमा तीव्रता दिइएको छ ।

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा स्वाभिमान यात्रा तयारी बैठक बसेको छ । बैठकमा सहायक महामन्त्री बर्तौलाले धर्म, सँस्कृति र पहिचानको रक्षा, राष्ट्रियता संरक्षण, भ्रष्टाचार अन्त्य, आर्थिक समृद्धि, महिला हिंसा र सामाजिक विभेद अन्त्यका निमित्त जनतालाई जागृत गराउन स्वाभिमान यात्रा गरिएको बताउनुभयो ।

निराशा र निष्कृयता अन्त्य गरी उच्च मनोबलसाथ संगठन निर्माणमा केन्द्रित हुनुपर्ने बताउँदै बर्तौलाले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सहयोग आवश्यक भएको चर्चा गर्नुभयो ।

केन्द्रीय भ्रमण टोली सदस्यद्वय प्रकाश रिमाल र गोपाल पौडेलले पार्टी संगठनलाई केन्द्रमा राखेर युद्धस्तरमा सांगठनिक गतिविधि अगाडि बढाउन आग्रह गर्नुभयो । मकवानपुरलाई राष्ट्रवादीहरुको किल्ला बनाउन सफलता मिलोस् भन्ने शुभेच्छा उहाँहरुले व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय अध्यक्ष कमल थापाको गृहनगर हेटौंडामा राप्रपा मकवानपुर अध्यक्ष अधिकारीले स्वाभिमान यात्रालाई सफल पार्न मकवानपुरले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

नगर अध्यक्ष गुरुप्रसाद सापकोटाले स्वागत गरेको बैठकले जिल्ला अध्यक्ष अधिकारीको संयोजकत्वमा ७ सय एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । बैठकले स्वाभिमान यात्राका निमित्त ११ वटा उपसमिति गठन गरेको नगर अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।