उच्च प्रविधिको तालिम केन्द्र खोल्न इजरायलसमक्ष प्रस्ताव

0
Shares

काठमाडौँ । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्यले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात् इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राख्नुभएको छ । इजरायलको जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीनसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत शाक्यले यस्तो प्रस्ताव गर्नुभएको हो ।

इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यसमार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने राजदूत शाक्यले प्रस्ताव राख्नुभएको हो ।

‘गार्ड अफ अनर’ सहितको सो कार्यक्रममा इजरायलका राष्ट्रपति र राजदूतबीच आधा घण्टाभन्दा बढी ‘वान टु वान’ वार्ता भएको थियो ।

भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई इजरायल भ्रमणको निम्तो दिनु भएको थियो । राष्ट्रपति रिभलीनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।