काठमाडौं । सत्तरुढ दलका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी अगाडि बढाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोगको प्रस्ताव अघि बढाउन निर्देशन समेत दिइसकेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको निर्देशनपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले सांसदहरुसँग छलफल गर्नुका साथै महाअभियोग दर्ताका लागि संसद सचिवालयका कर्मचारीसँग परामर्श गरेको स्रोतले जनाएको छ । पाठकविरुद्ध बिहीबार नै महाअभियोग दर्ता गर्ने नेकपाको तयारी छ ।
संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारीले गलत आचरण गरेमा संसदले महाअभियोग लगाउन सक्ने व्यवस्था नेपालको संविधान २०७२ ले गरेको छ । संविधानका धारा १०१ को उपधारा दुईमा प्रतिनिधिसभामा एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे सो व्यक्ति निलम्बनमा पर्छ ।
तर, प्रस्ताव पारित गराउन दुई तिहाइ बहुमत आवश्यक पर्छ । अहिले सरकारमा रहेका नेकपा र संघीय समाजवादी फोरमसँग संसदमा दुई तिहाई मत छ । अख्तियारका आयुक्त पाठकले स्वामित्व विवाद रहेको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैया घुस लिएको खुलासा भएको थियो ।











प्रतिक्रिया