दुई पार्टी एक भएपछि दुवै तर्फका शहिदलाई सम्झीयो नेकपाले

0
Shares

धनवीर दाहाल,रुकुम ।
बुधबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमको पार्टी कार्यालयमा हसिया हतौडा र सुर्य अंकित झण्डाले झकीझकाउ थियो । साविकको एमाले र माओबादी केन्द्रको संगठन बिगठन भएदेखी सुनसान जस्तै देखिने साविकको एमाले पार्टी कार्यालय बुधबार भने निकै झकीझकाउ देखिन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमको पार्टी कार्यालय साविकको एमाले पार्टी कार्यालयमा राखिने बताइएपनि यसअघिका दिनमा सुनसान थियो ।

एक दिन अघि अर्थात माघ २९ गते जिल्ला पार्टीको तर्फबाट जिल्ला संयोजक महेन्द्र के.सीले २४औं जनयुद्ध तथा जनआन्दोलन दिवसको अवसरमा श्रद्धाञ्जली सभामा उपस्थित हुन आग्रह गर्नुभएको थियो ।

पार्टी एकिकरण भइसकेपछि जिल्ला स्तरको पार्टीका औपचारिक कार्यक्रममा सहभागी हुन नपाएका कार्यकर्ताले प्रांगण खचाखच थियो । सन्दर्भ थियो २४औं जनयुद्ध तथा आन्दोलन दिवस । २०५२ साल फाल्गुन १ गते तत्कालिन बिद्रोही नेकपा माओबादीले रुकुमको आठबिसकोट प्रहरी चौकी र रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरी जनयुद्धको घोषणा गर्यो ।

तत्कालिन राज्य पक्ष र बिद्रोही पक्षको दुई पटक सम्म रुकुमकै खारामा भिषण लडाई भयो । शसस्त्र युद्धको समयमा तत्कालिन राज्य र बिद्रोही पक्षबाट ६ सय भन्दा बढी रुकुमेलीले ज्यान गुमाए ।
आन्दोलनकै जगमा देशमा नयाँ संबिधान जारी भई संघियता कार्यान्वनको चरणमा रहेको छ । देशका दुई ठुला कम्नीयुष्ट पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएपछि रुकुममा पहिलो पटक साविकका एमाले र माओबादीले जनयुद्ध तथा जनआन्दोलन दिवस मनाए ।

अझै भन्नुपर्दा रुकुममा तत्कालिन बिद्रोही माओबादीबाट मारिएका तत्कालिन एमालेका जिल्ला सचिव यदु गौतम, दलराम खड्का लगाएतको पनि सम्झना गरियो । परिवर्तनको लडाईमा ज्यान गुमाएका सबै शहिद भएकोले उनीहरुले देखाएको बाटोमा हिड्नुपर्नेमा जनयुद्धको बेला राज्यपक्षबाट आफ्नी छोरी गुमाएका देवीलाल गौतमको भनाई छ ।

मुसिकोट नगरपालिकाका प्रमुख समेत रहनुभएका शहिद परिवारका अध्यक्ष गौतमले शहिदले देखाएको बाटोमा हिड्न भुलेर दायाँ बाँया गर्ने छुट कसैलाई नभएको बताउनुभयो । शहिदको रगतबाट यो परिवर्तन सम्भव भएको बताउँदै उहाँले संघियतालाई कार्यान्वन गरी दिगो विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

शहिदको सपना साकार पार्नका लागी परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा तत्कालिन बिद्रोही माओबादीबाट मारिएका यदु गौतम प्रतिष्ठानका संरक्षक माधव गौतमले जोड दिनुभयो । बिभिन्न परिवर्तनसँगै देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइ संघियता कार्यान्वनको चरणमा रहेकोले अव सबैको ध्यान त्यतापट्टी जानुपर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्दीय सदस्य राजकुमार शर्माले जोड दिनुभयो ।

उहाँले शहिदले देखाएको बाटोमा अबिचलित रुपमा लागी रहने प्रतिबद्धता जनाउनुभयोे । शसस्त्र युद्ध तथा आन्दोलनको क्रममा ज्यान गुमाएका एवं बेपत्ता पारिएका परिवारले परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । फेरी कुनै पनि खालमा आन्दोलन गर्नुनपरोस भन्ने कामना शहिद परिवारको छ ।