फोहोरको डंगुर भित्र भीनपाः नगरपालिका परिसर भित्रै ‘डम्पिङ साईड’

0
Shares

मनोज भट्ट, महेन्द्र्रनगर ।
भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारबाट उत्पादित फोहोर आफ्नै कार्यालय परिसरभित्र नै थुपार्ने गरेको भेटिएको छ । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका कार्यालयको दक्षिणतर्फ बजार क्षेत्रबाट उत्पादित फोहोरजन्य बस्तुहरु थुपार्ने गरेको भेटिएको हो ।
बजार क्षेत्रबाट दैनिकजसो संकलन गरेर ल्याउने फोहोरजन्य पदार्थ व्यबस्थापनका लागि उचित क्षेत्र निर्धारण गर्न नसक्दा नगरपालिका परिसरभित्र नै फोहोर थुपार्ने गरिएको छ ।

नगरपालिकाको हाता भित्र नै फोहोर संकलन गर्न थालिएपछि उक्त क्षेत्र साह्रै दुर्गन्धित भएका नगरपालिकाकै कर्मचारीहरुको गुनासो छ ।
बजार क्षेत्रका साथै सब्जीमण्डी क्षेत्रबाट उत्पादित फोहोर पनि त्यहि क्षेत्रमा संकलन गर्ने गरिएको छ । घरबाट उत्सर्जन हुने फोहोरका साथै सब्जीमण्डी क्षेत्रमा बध हुने पशुपंक्षिको फोहोर पनि नगरपालिका परिसरमै संकलन हुने हुँदा धेरै दुर्गन्ध फैलिएको सेवागाह्रीको भनाई छ । नगरपालिका कार्यालयको दक्षिणतर्फ संकलन गरिएको फोहोरले त्यस बाटो आवतजावत गर्ने स्थानीयहरु समेत नाक थुनेर हिड्न बाध्य भएका छन् ।

‘सहर सफा, सुन्दर बनाउने नगरपालिका फोहोरले आफै कुरुप’

महेन्द्रनगर बजारलाई सफा, सुन्दर बनाउने उद्धेश्य सहित दैनिक रुपमा नगरपालिकाले आफ्नै साधनमा बजार क्षेत्रबाट संकलन गरेर ल्याउने फोहोर थुपार्ने स्थानमा टिनको पर्खाल लगाएर व्यबस्थित गर्न खोजेको छ ।

तर जंगली जनावर (बाँदर), कुकुर तथा पंक्षीहरुले फोहोर यत्रतत्र गरेपछि नगरपालिकाको उक्त क्षेत्र निकै कुरुप देखिएको छ ।
बजारलाई सुन्दर, सफा, हराभरा बनाउने उद्धेश्यका साथ फोहोर संकलन गरिरहेको नगरपालिकासंग उचित ‘डम्पिङ साइड’ नहुँदा उक्त फोहोरले आफै दुर्गन्धित बनेको छ ।

फोहोर व्यबस्थापनका लागि उचित स्थानको अभावमा बजार क्षेत्रको फोहोर कार्यालय परिसर भित्र नै संकलन गर्न बाध्य भएको भीमदत्त नगरपालिकाले जनाएको छ । फोहोर व्यबस्थापन गर्ने ‘डम्पिङ साइड’को लागि नगरपालिकाका १९ वडामध्ये कुनै ठाउँमा पनि जमीन दिन तयार नभएपछि हालका लागि नगरपालिकाभित्र नै संकलन गर्ने गरिएको जनाएको छ ।

‘डम्पिङ साइड’का लागि नगरपालिकाले ४÷५ क्षेत्र निर्धारण गरेको तर त्यहाँका स्थानीयहरुले वातावरण दुर्गन्धित हुने भन्दै फोहोर व्यबस्थापन गर्न नदिएको नगरपालिका स्रोतको दाबी छ । ‘डम्पिङ साइड’का लागि नगरपालिकाले ४÷५ क्षेत्र निर्धारण गरेको तर त्यहाँका स्थानीयहरुले वातावरण दुर्ग्न्धित हुने भन्दै फोहोर व्यबस्थापन गर्न नदिएको नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले बताए ।

.‘हामीले फोहोर व्यबस्थापनका लागि प्रयास गरिरहेका छौँ, सुरुवातमा ४÷५ ठाउँ निर्धारण गरिए तर त्यहाँ स्थानीयले नमानेपछि तत्कालका लागि यहाँ नै संकलन गरिरहेका छौँ ।’ उनले भने । बजार क्षेत्रको फोहोर व्यबस्थापनका गर्ने उचित ठाउँ नभएपछि नगरपालिका परिसरमै संकलन गरिएको फोहोरले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको भन्दै स्थानीय बुद्धिजिविहरुले चिन्ता व्यक्त गरेका छन् ।
तत्काल भीमदत्त नगरपालिकालाई उचित फोहोर संकलन गर्ने ठाउँ निर्धारण गर्ने काममा सबैले सहयोग गर्नु पर्ने तथा नगरपालिकाले पनि तदारुकता देखाउनु पर्नेमा उनिहरुले जोड दिएका छन् ।