सघन शहरीले भद्रपुरका सडकमा खटाइएका प्राविधिक खोइ ?

0
Shares

उत्तम नेपाल, भद्रपुर । नेपालको पुरानो नगरपालिकाको रुपमा परिचित भद्रपुर नगरपालिका क्षेत्रभरि पछिल्लो समय सडक तथा नाला निर्माण धमाधम भइरहेको छ । सडक निर्माणको क्रममा धेरै स्थानमा सकस बन्दै पनि आइरहेको छ । तर, स्तरीकरणको काम भइरहेका सडक निर्माण स्थलको प्रत्यक्ष अनुगमन भने भएको पाइदैन । नगरपालिकाले आफ्नो तर्फबाट गत वर्ष आम्सिक अनुगमन गरेपनि चालु आर्थिक वर्षमा शून्य रहेको छ ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठ लगायतले सामाजिक सञ्जालमा अनुगमनको फोटा सार्वजानिक गर्दै आएपनि यो वर्ष गुपचुप रहेका छन् । नगरपालिका मौन रहेसँगै सडकको लागि खटिएका सुपरभाइजर निर्माणस्थलमा नदेखिएपछि ठेकेदारको भरमा नै त्यस्ता खाले सडक निर्माण हुदै आएको छ । यसरी ठेकेदारको एकलौटी उपस्थितीमा निर्माण भइरहेका सडकको अवस्था गुणस्तरीयमाथि शङ्का उत्पन्न भएको छ । तर नगरपालिका इञ्जिनियर योगेन्द्र रञ्जितकारले भने नगरपालिकाको तर्फबाट बेलाबखत अनुगमन गरिरहेको दाबी गरे । संयुक्त अनुगमनको लागि भने केही दिन पछि वैठक बसेर गरिने उनको भनाइ छ ।

सघन शहरी विकास कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७३।७४ मा ६ वटा प्याकेजमा सडक स्तरीकरणको काम भइरहेको नगरमा चालु रहेका २० वटा निर्माण स्थलका लागि १२ जना प्राविधिक स्थलगत अनुगमनका लागि खटिने जिम्मेवारी छ । तर, निर्माण स्थलमा देखिदैनन । प्राविधिकको अनुपस्थितीमा कम्पनीको चाहना अनुसार काम भइरहेको प्रष्ट भएको छ । उनीहरूलाई तलव भत्ता सहित करारको नियुक्ति दिएर सघन सहरी विकास आयोजनाले स्थलगत अनुगमनमा पठाएको छ । प्राविधिकले सिमेन्ट, बालुवा, गिटी, ढुङ्गाको परिणामको बारेमा मात्रा मिलाउन नगएपछि मञ्दुर र ठेकेदारको भरमा निर्माण भइरहेका सडक तथा पर्खाल चर्कने, फुट्ने जस्ता जटिल समस्या देखिन सक्ने नगरवासीको आरोप छ । सडकको अवस्था नाजुक बन्दै जानुमा नगरपालिकाले चासो नदेखाएको स्थानीय रामराज न्यौपानेले गुनासो गरे । जताततै सडकसँगै नाला निर्माण भइरहेको अवस्थामा नगरपालिका र सघन शहरीले ध्यान नदिएको उनको आरोप छ । निर्माण मजदुर भने कुनै दिन सुपरभाइजर आउने, कुनै दिन नआउने जनाउँछन् ।

सवै क्षेत्रमा १० देखी ५ बजेसम्म प्राविधिक खटिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर गजेन्द्र साहले दाबी गरे । प्राविधिक पहिचानको लागि केही दिन अघिबाट लोगो सहितको लाइट ज्याकेट उपलब्ध गराइएको उनले बताए । निर्माण स्थलमा कुनै समस्या भए तत्काल कार्यालयमा जानकारी गराउने र समाधानको लागि इञ्जिनियर पुग्ने गरेको उनको भनाइ छ । उनका अनुसार सव ओभरसियर, ओभरसियर र सुपरभाइजर गरी १२ जना खटाइएको बताए ।

कार्यालयले सवारी साधनका रूपमा एक ÷एक वटाका दरले साइकल दिएको र नीजी मोटरसाइकल हुनेलाई इन्धनको व्यवस्था समेत गरेको उनले बताए । मापदण्ड विपरीत निर्माण हुदै गरेको लेखनाथ चोक हुदै गार्भेन्ट जाने सडकको ६ मीटर जती नाला ,धनुषमोड बाट चन्द्रगढी चोक तर्फमा सोलिङ् लगायत अन्य क्षेत्रमा रद्द गरी पुनः वनाउन लगाइएको उनले बताए । ठेकेदारको प्राविधिक भएपनि सम्झौता अनुसार नभएको पाइएमा निर्माण सम्पन्न पास नहुने उनले दाबी गरे । निर्माण क्षेत्रमा प्रयोग भइरहेका सामग्री परिक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनले बताए । ६ ओटा प्याकेजको लागि २ अर्ब रुपैया आएको छ भने ५ ओटा निर्माण कम्पनीले ठेक्का लिएको उनको भनाइ छ । भद्रपुर क्षेत्रमा करिब ७० किलोमीटरको काम भइरहेको छ । नाला तर्फ ७५ र सडकमा १५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

बहुवर्षे आयोजना अन्र्तगत योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तारसँगै कालोपत्रे हुने जनाइएको छ । ५ वर्ष भित्र साना तथा साँघुरा सडक फराकिला बन्ने लक्ष्य लिएर काम भइरहेको छ ।