कर्मचारीको ब्यक्तिगत विवरण मिलेन

0
Shares

सुनील महर्जन, काठमाडौं
सरकारले निर्धारित गरेको समयसीमाभित्र कर्मचारी समायोजन नटुंगिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ गतेभित्र समायोजन सकिने भनेको थियो । समायोजनमा भएको ढिलाइले सो अवधिभित्र समायोजन कार्य नटुंगिने अवस्था आएको हो ।

मन्त्रालयका अनुसार कर्मचारीको वैयक्तिक विवरण नमिलेका कारण समायोजनमा ढिलाइ भइरहेको छ । प्रशासन सेवाका शाखा अधिकृतहरूको गत आइतबार नै समायोजनको टुंगो लाग्ने बताइए पनि भरेका फाराममा विवरण नमिलेका कारण कठिनाइ भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय किताबखानामा कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक नगरिएकाले समायोजनमा ढिलाइ भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई बताउनुभयो । प्रवक्ता अधिकारीको अनुसार कर्मचारीले विवरण अद्यावधिक गर्न दिएको समयसीमामा पनि आफ्नो विवरण अद्यावधिक गरेका छैनन ।

कर्मचारी समायोजन ढिला हुदै

‘विगतमा एक ठाउँमा दरबन्दी राखेर काजमाथि काज गरेर पठाइएका कारण काम गरिरहेको ठाउँ नै मिलेन’, प्रवक्ता अधिकारीले भन्नुभयो– ‘पद, नाम र स्थान नै फरक परेपछि कठिनाइ आएको हो ।’ अधिकारीका अनुसार करिब ५० प्रतिशत जति अधिकृतको विवरण मिलेको छैन ।

यस विषयमा चाँडै टुंगो लगाउने पनि मन्त्रालयले जनाएको छ । फरक परेको विवरण मिलाउने काम भइरहेको र अन्तिम चरणमा पुगेकाले केही दिनमै निर्णय हुने अधिकारीको भनाइ छ ।

मन्त्री लालबाबु पण्डित खुसीयाली सम्मेलनमा भाग लिएर आज बुधबार नेपाल फर्किनुहुने बुझिएको छ । मन्त्री पण्डित आउनुभएपछि यस विषयमा निर्णय हुने बताइएको छ । प्रशासन सेवाका २ हजार ८ सय ८९ शाखा अधिकृतमध्ये ४ सय ५६ जनाले प्रदेश र स्थानीय तह रोजेको बुझिएको छ । यही गतिले मन्त्रालयले फागुन ३ गतेभित्र समायोजनको कार्य टुंगो नलाग्ने अवस्था देखिएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

यसैबीच सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ । प्रवक्ता अधिकारीले कर्मचारी समायोजन अध्यादेश अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो ।
ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको हो । आवेदन दिएको आधारमा संख्यामा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन गरिएको पनि अधिकारीले जानकारी दिनुभयो ।

यसअघि सरकारले सचिव र ८ सय ४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिनुहुनेछ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिनेछ ।