प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न

0
Shares

काठमाडौं,
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १७८औं समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रधानमन्त्री ओलीले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गर्नुका साथै प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘प्रेरणा २०७५’ को लोकार्पण गर्नुभयो । पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम हुने कमल क्षेत्री, सर्वद्वितीय कुशराम कार्की, सर्वतृतीय विष्णुबहादुर बस्नेत, अध्ययन प्रथम कमल क्षेत्री, कवाज प्रथम सुशिल थापा, शारीरिक व्यायाम तथा आत्मवल अभिवृद्धि प्रथम राकेश रेग्मी, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रदिप सुवेदी, चाँदमारी प्रथम शेखरकुमार साह रहेका छन् । साथै उक्त अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानका पूर्व समादेशक चिन्तबहादुर बस्नेतलाई सम्मान पत्र प्रदान समेत गर्नुभयो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ओलीले न्याय प्रदान गर्ने सन्दर्भमा नेपाल प्रहरीबाट नै हरेक विषय प्रारम्भ हुने भएकोले नेपाल प्रहरीको कर्तव्य असिमित र बहुआयामिक रहेको चर्चा गर्दै विगतमा नेपाल प्रहरीले अत्यन्तै कठिन अवस्था पार गर्दै आजको दिनसम्म आइपुगेको बताउनुभयो । नेपाल प्रहरी आधुनिक, सक्षम र दुनियासँग प्रतिष्पर्धा गर्ने सक्ने भएको उल्लेख गर्दै दीक्षीत भई जाने प्रहरी निरीक्षकहरुले अनुशासनमा बसेर स्वाभिमानपूर्क देश, जनता, संगठनका लागि बफादार भई आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने उहाँले बताउनुभयो ।

नेपाल प्रहरीले विगतमा शान्ती सुरक्षा कायम राख्ने सन्दर्भमा असाधरण भूमिका खेलेको बताउँदै नेपाल प्रहरीलाई वैज्ञानिक, भौतिक सुविधा सम्पन्न, प्रविधिले युक्त बनाउन सरकार तत्पर रहेको प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो ।

समुन्नत समाज निर्माण गर्न सुशासनका आधार र विकास आधारहरुमा केन्द्रीत भएर अगाडि बढ्न सरकार प्रयासरत रहेको र यसैबाट समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न सकिने समेत उहाँले बताउनुभयो । हाल देशले विकासको असाधारण सम्भावना बोकेको र यस्ता कुरा ध्यानमा राखी प्रहरीले देशमा शान्ती सुव्यवस्था कायम गर्नुपर्ने उल्लेख गर्दै विश्वासका साथ अगाडि बढी देश विकासको महाअभियानलाई सफल बनाउनु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
समारोहमा मन्तव्य व्यक्त गर्दै माननीय गृहमन्त्री रामबहादुर थापा बादलले आम नागरिकबाट व्यवसायीक प्रहरीमा रुपान्तरण गर्न आधारभूत तालिम महत्वपूर्ण रहेको चर्चा गर्दै अविचलित निष्ठाका साथ मुलुकले अख्तियार गरेको समुन्नतीतर्फको यात्रालाई सुनिश्चित राख्न शान्ती सुरक्षा कायम राख्ने गम्भीर जिम्मेवारी प्रहरी अधिकृतहरुलाई प्राप्त भएको बताउनुभयो ।

अपराध अनुसन्धानमा नेपाल प्रहरी गतिशिल, निष्पक्ष र सक्षम रहेको तथा न्याय प्राप्तिका लागि उठाउने हरेक कदममा नेपाल प्रहरीको साथमा सरकार रहेको समेत उँहाले बताउनुभयो ।

प्रहरी संगठनका कर्मचारीले कानुनको सर्वोच्चतामा क्रियाशिल हुनुपर्ने उल्लेख गर्दै वातावरणीय अनुकुलता प्रदान गर्न सुरक्षा कवचको रुपमा सरकार तयार रहेकोले प्रहरी अधिकृतहरुलाई व्यतिगत जीवनमा समेत सचेत भई अगाडि बढ्न गृहमन्त्री थापाले निर्देशन दिनुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी निरीक्षकको रूपमा प्रवेश गर्ने प्रहरी अधिकृत नै भविष्यमा संगठनको नेतृत्व सम्हाल्दै मुलुक र नागरिकका लागि उपयुक्त प्रहरी सेवाको प्रबन्ध गर्न जिम्मेवार हुने भएकोले प्रहरी निरीक्षक आधारभूत तालिम सदैव संगठनको उच्च प्राथमिकताको विषय भएको बताउनुभयो ।

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण राख्दै संविधान प्रदत्त मौलिक हक र मानव अधिकारको संरक्षण एवं सम्वर्धन गर्दै समृद्ध, समुन्नत एवं सुरक्षित नेपाल निर्माणमा योगदान पुर्‍याउनु प्रहरीको प्रमुख कर्तव्य भएको समेत उहाँले चर्चा गर्नुभयो ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नागरिकसँगको सहकार्यको आवश्यकतालाई महसुस गरी नेपाल प्रहरी, स्थानीय तह, सामाजिक संघसंस्था, नागरिक समुदाय, विद्यालय लगायतका पक्षहरुबीचको सहभागितामा समुदाय(प्रहरी साझेदारी कार्यक्रम प्रारम्भ गरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध रोकथाम र शान्ति सुरक्षा कायम गर्न यो कार्यक्रम क्रमशस् प्रभावकारी बन्दै गईरहेको बताउनुभयो ।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा।डा। डिल्लीराज शर्माले तालिमको साथै पिजीडिपीएस कार्यक्रमबाट प्राप्त ज्ञान, सीप, प्रशासन व्यवस्थापन लगायतका बिषयले जनताको सेवामा अधिकतम प्रयोग हुने चर्चा गर्दै थप विशिष्टिकृत ज्ञान प्रदान गर्ने उद्धेश्यले व्यवस्थापन संकाय अन्तर्गत मास्टर ईन पुलिस साइन्स कोर्स संचालनका लागि त्रिभुवन विश्वविद्यालयबाट प्रतिष्ठानलाई स्वीकृति प्राप्त भईसकेको बताउनुभयो ।

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै गत २०७४ असार ११ गतेबाट सुरु भएको उक्त तालिममा १२ महिला सहित कुल ९५ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको बताउनुभयो ।

प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दिक्षित प्रहरी निरीक्षकहरुलाई आ(आफ्ना अभिावकहरुद्वारा दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो ।

उक्त दीक्षान्त समारोहमा माननीय सांसद नवराज सिलवाल, गृह सचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रशासनिक प्रतिष्ठानका कार्यकारी निर्देशक, त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन संकायका डिन तथा पदाधिकारीहरु, नेपाली सेनाका साहायक रथि, कुटनीतिक नियोगका प्रतिनिधिहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक तथा बरिष्ठ अधिकृतहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।