समिति खारेज गरे आन्दोलन गर्ने बादीको चेतावनी

0
Shares

काठमाडौं, (नेस) ।
बादी अभियान संघर्ष समितिले बादी समुदाय उत्थान बिकास समिति खारेज गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । उनीहरुले फागुन १५ गतेसम्म पर्खने र माग पूरा नगरे जस्तोसुकै आन्दोलन गर्न पनि वाध्य हुने बताएका छन् ।

संघर्ष समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक रत्नबहादुर नेपाली (बादी) ले सरकारले गर्न लागेको खारेजीको निर्णय गलत भएको बताउनुभयो । उहाँले सरकारसँग पटकपटक आफ्ना माग राखेपनि सुनुवाई नभएको भन्दै चिन्ता गर्नुभयो ।

‘समितिले अझै पनि काम गर्न बाँकी छ, त्यो समुदायको हितको लागि सरकारले अझै थप कार्यक्रम र अवसर दिनुपर्छ’ संयोजक बादीले भन्नुभयो ‘ बादी समुदाय पछाडि परेको समुदाय हो, बीचैमा अभियान बन्द गरिने हो भने एकातिर समुदाय झन् पछि पर्छ भने अर्कातिर सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यमा समेत असर पर्छ ।’ नेपालीले यसरी नै खारेज भएका अन्य समितिहरु आन्दोलनबाट पुनः स्थापित भएको भन्दै त्यसको लागि अन्तिम संघर्ष गर्ने बताउनुभयो ।

२०६९ बैशाख १५ गते समिति गठन भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको समिति खारेजीको लागि मन्त्रालयले ३ चोटी प्रस्ताव लगिसकेको तर प्रधानमन्त्रीको सकारात्मक सोचको कारण खारेज हुनबाट बचेको समितिका कार्यकारी निर्देशक महेश नेपालीले बताउनुभयो ।

२०६८ सालको जनगणनाअनुसार ३८ हजार ६ सय ३ जना बादीको तथ्यांक रहेको भनिएपनि झण्डै १ लाखको हाराहारीमा बादीको जनसंख्या रहेको र उनीहरु हरेक दृष्टिकोणले पछि परेको निर्देशक नेपालीले बताउनुभयो । ५ नम्बर, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बादी समुदायको बढी बसोबास रहेको जनाइएको छ ।

सरकारले यसअघि सामान्य बजेट दिँदै आएपनि यसपालि समिति सञ्चालनको लागि कुनै बजेट नदिएकोमा समितिको आपत्ति छ । बादी समुदाय अझैपनि यौनजन्य क्रियाकलाप गर्दै आएको र उनीहरुको जीविकाको अरु बिकल्प नभएकोमा पनि उनीहरुले सरकारसँग जीविकोपार्जनको विकल्प खोजिदिन पनि अनुरोध गरेका छन् ।